बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनको आधि बेहेरी ल्याएर भएपनि संविधानको रक्षा गर्ने बताएका छन ।
राष्ट्रिय दलित पत्रकार महासंघको प्रथम राष्ट्रिय महाधिवेशनलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै नेता दाहालले देशको राजनीतिक अवस्था संविधानको रक्षा गर्ने र हत्या गर्ने बहसमा रहेकोले शान्तीपूर्ण आन्दोलनको आधि बेहेरी ल्याएर भएपनि दलित, मधेशी , मुस्लिम ,महिला तथा पिछडिएका वर्गको उत्थानको लागि संविधान रक्षाको आवश्यकता रहेको बताए ।
जनयुद्धमा दलित समुदायले ठुलो त्याग र बलिदानी गरेकोले दलित समुदायको ऋणी छु, पुन ः प्रतिगमन तिर लैजान खोज्ने विरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि दलित समुदाय तयारी अवस्थामा रहन अपिल गरे ।
सडकबाट रङ्गिन शान्तिपूर्ण आन्दोलन अहिलेकोे आवश्यकता रहेको र शान्तीपूर्ण क्रान्ती आफुले सम्पन्न गर्ने बताए । आफु माथि अहिले घेराबन्दी गरेको गहिरो महशुस भएको बताउदै नेता दाहालले परिवर्तनकारी नेताहरुलाई बदनाम गराउने गणतन्त्र विरोधीले सुरु गरेको आरोप लगाए ।
नेपाली कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले देशको राजनीतिक परिवर्तन गरि शान्तिपूणर्बाटोमा ल्याउँनको लागि गिरिजा प्रसाद कोईराला र पुष्पकमल दाहालको मुख्य भूमिका रहेको बताए ।
जोखिम मोलेर ऐतिहासिक भूमिका निर्वाह गर्ने नेताहरु माथि चलखेल गरेर प्रहार सुरु हुन थालेको छ । देशको राजनीतिक धार संविधानको रक्षा गर्ने की हत्या गर्ने भन्ने तर्फ मोडिएको बताउदै उनले संविधानको रक्षा गर्नको लागि नेपाली कांग्रेसले नै नेतृत्व गर्ने बताए ।
चैत्र १ गतेसम्म चल्ने सम्मेलनमा देशभरका ४ सय दलित समुदायका पत्रकारहरुको उपस्थिती रहेको छ ।