भैरहवा जेठ १४,
पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा ‘भैरहवा सिद्धार्थ परिवार, यु.के.’ द्वारा बीस थान पंखा एक समारोह बीच हस्तान्तरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता एवम् संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सिद्धार्थनगर निवासी तर हाल युके बसोवास गर्ने भैरहवावासीहरुले समाजसेवी शर्मिला हिराचनको नेतृत्वमा संकलन गरेको सहयोग राशी करिब पचास हजार रकम बराबर बीस थान पंखा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा पंखा हस्तान्तरण गर्दै प्रमुख अतिथि इस्तियाक अहमद खाँले विद्यालयमा पढ्न आउने बालबालिका निम्न आय भएका अधिकांश ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई सुविधायुक्त वातावरणमा शिक्षण सिकाई सहज गराउने नगरको भावि कार्ययोजना समेत रहेको धारणा व्यक्त गर्नु भयो ।

सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् युवा समाजसेवी सुशील गुरुङ्गले सामुदायिक विद्यालयहरुमा आम्दानीको अन्य स्रोतहरु नरहेको र सरकारबाट बजेटको नाउँमा मासिक रुपमा कार्यरत शिक्षकहरुलाई तलब सुविधा मात्र आउने हुँदा दैनिक कार्यालय सञ्चालन, मरम्मत एवम् अन्य व्यवस्थापनका लागि कठिन भएकोले विद्यालय सहज सञ्चालन गर्न नियमित ठोस स्रोतका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको जानकारी शिक्षक देवी प्रसाद न्यौपानेले बताउनु भएको छ ।

विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको स्वागत र शिक्षिका गीता पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला समाजसेवी तथा शिक्षाप्रेमी रुपमा हिराचन, युवा समाजसेवी ओम कुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा सिद्धार्थनगर वार्ड नं.१ का पूर्व वडाध्यक्ष रमेश मल्ल, वार्ड नं.६ का वडा सदस्य अनिल कुमार के.सी., युवा समाजसेवी लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, सदस्य सीतादेवी राजभर, सदस्य सलुजा विश्वसेन्चुरी, समाजसेवी विनोद राना, बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, विनोद कुमार लगायतको उपस्थिति रहेको थियो ।