भैरहवा असार १ ।
शैक्षिक गुणस्तर सुधारको लागि सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले एउटा पक्षको मात्र प्रयासले शैक्षिक गुणस्तर सुधार हुन नसक्ने भएकाले सम्पूर्ण पक्षको भूमिका आवश्यक रहेको बताए ।
गाउँ शिक्षा समिति, वडा नम्बर ४ कार्यालय र रोहिणी गाउँपालिकाले बिहीबार रोहिणी–४ स्थित श्री छिपागढ माध्यमिक विद्यालयमा आयोजना गरेको शैक्षिक गुणस्तर सुधारको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक लगायतका सरोकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले ‘टीम वर्क’ आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा समिति गम्भिर रहेको बताए । उनले गाउँपालिका अन्तर्गतका ७ वटै वडामा अन्तरक्रिया गरेर समस्याको पहिचान गरिने बताए ।

श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक बबुन्ना गद्दीले सम्पूर्ण पक्ष एकजुट भएर अघि बढे शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए । उनले विगतमा अभिभावकलाई बोलाएर विद्यार्थीहरुको पढाइको बारेमा जानकारी गराइएको बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक अहमद अली अन्सारीले अभिभावक, विद्यार्थी, तेस्रो पक्षलाई मात्र दोष दिएर मात्र समस्या समाधान हुन नसक्ने बताए । उनले बहानाबाजी गरेर कोही पनि उम्किन नपाइने बताए । उनले अभिभावकको जिम्मेवारी महत्वपूर्ण रहेकाले अभिभावकलाई पनि जागरुक बनाउनुपर्नेमा जोड दिए ।
गाउँ शिक्षा समितिका सदस्य धनेश्वर कंवरले शिक्षकसँगै अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए । सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले आफ्नो दायित्वबाट कोही पनि पन्छिन नपाइने बताए । उनले विगतको नतिजाबाट समीक्षा गर्दै अब राम्रो नतिजा बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । शिक्षक दिनेश मौर्यले अभिभावकले विद्यार्थीहरुलाई समयमै विद्यालय पठाउनुपर्ने बताए । शिक्षिका पुष्पा थारुले विद्यार्थीहरु नियमित रुपमा विद्यालय नआउँदा समस्या भएको बताइन् ।


रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले अभिभावकलाई जागरुक, चेतनशील र जागरुक बनाउनुपर्ने बताए । रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तारानाथ यादवले शिक्षा, स्वास्थ्यमा लगानी बढाउनुपर्ने बताए । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले शिक्षा क्षेत्रमा सरकारले धेरै लगानी रहेको बताए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवले शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकता दिएको बताए । उनले शिक्षा, स्वास्थ्य क्षेत्रको विकास गरी गाउँपालिकालाई नमूना बनाउन सकिने बताए ।