Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोहिणीका विद्यालयमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८० मंगलवार
  • 322
    SHARES

रोहिणीका विद्यालयमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर

 

भैरहवा, ९ साउन ।

रुपन्देहीको रोहिणी गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफेर गरिएको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षक काजमा खटाउने सम्बन्धी कार्यविधि २०८० बमोजिम अर्को व्यवस्था कायम नभएसम्मका लागि प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर गरी काजमा खटाउने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९÷०८० को शैक्षिक कार्यक्रम र पढाइ समीक्षा गर्दै गाउँपालिकाले लगानी गरेअनुरुप शैक्षिक प्रतिफल प्राप्त हुन नसकेकाले यस आ.व. लाई शैक्षिक दृष्टिकोणले अब्बल र नमूना बनाउनका लागि सबैले सबै क्षेत्रमा आ–आफ्नो जवाफदेहीता प्रवद्र्धन गर्ने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले गाउँ शिक्षा समितिबाट निरन्तर अनुगमन, निरीक्षण र पृष्ठपोषण प्रदान गर्ने तथा क्षेत्र विशेषअनुरुपको विशिष्टीकृत प्रयास गर्नेसमेत निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

356771991_960104591728349_8422512543164047612_n.jpg

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा क्षेत्रको विकासका लागि केही काम अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले यो कदम चालिएको बताए । उनले रोहिणीलाई शिक्षा क्षेत्रमा राम्रो बनाउने गरी गाउँपालिका अघि बढेको बताए । अध्यक्ष यादवले भने, ‘म निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई जोड दिने जनतामाझ प्रतिवद्धता व्यक्त गरेको थिएँ ।

विद्यार्थीहरुको नतिजा विश्लेषण गर्दा सन्तोषजनक नदेखिएपछि शैक्षिक गुणस्तर सुधारका लागि लागिपरेका छौं ।’ उनले गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यहाँका राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सरोकारवाला, बुद्धिजीविलगायतसँग छलफल गरिएको र उहाँहरुबाट रचनात्मक सहयोग प्राप्त भएको बताए । उनले भने, ‘प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर गरी काजमा खटाउने प्रक्रिया अघि बढाइएको छ । यो प्रक्रिया अगाडि बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

add sai 26.jpg

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले विद्यार्थीहरुको उज्जवल भविष्यका लागि शैक्षिक गुणस्तर सुधार गर्ने अभिप्रायले प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेरको प्रक्रिया अघि बढाइएको बताइन् । उनले भनिन्, ‘भविष्यका कर्णधार विद्यार्थीको राम्रो नतिजा तथा शैक्षिक गुणस्तर सुधारका लागि गाउँ शिक्षा समितिले यो निर्णय गरेको हो ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाभित्र रहेका विद्यालयका ३२ जना शिक्षकहरुको जिम्मेवारी हेरफर गरिएको बताए । उनले लामो समयको छलफल तथा चरणबद्ध कार्यक्रमपश्चात यो प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘यहाँका विद्यालयको नतिजा अत्यन्तै निराशाजनक देखिएपछि यो कदम अघि बढेको हो । यो कुनै हठात् निर्णय होइन्, लामो समयदेखि यस विषयमा होमवर्क भइरहेको थियो ।’ रोहिणीमा शिक्षा क्षेत्रको विकासका लागि आगामी दिनमा थप नयाँ कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।

 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले गत शैक्षिक सत्रमा कक्षा ८ मा ८ प्रतिशत र कक्षा ५ मा १० प्रतिशत नतिजालाई आधार मान्दै विश्लेषण गरिएको बताए । उनले नतिजा सन्तोषजनक नभएपछि शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफरको प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘समग्र रोहिणीको शैक्षिक गुणस्तर सुधारका लागि अघि बढेका छौं । ’ उनले मावि तहमा मावि स्थायी शिक्षक, निमावि तहमा निमावी स्थायी शिक्षक र प्राविमा वरिष्ठताको आधारमा प्रधानाध्यापक तथा शिक्षक खटाइएको जानकारी दिए । उनले रोहिणीका १५ सामूदायिक विद्यालयमध्ये १४ वटा विद्यालयमा प्रधानाध्यापक तथा शिक्षक हेरफेर गरी काजमा खटाइएको बताए ।

रोहिणी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का वडाअध्यक्ष आबिद अलि पठानले शैक्षिक गुणस्तर सुधारका निम्ति गाउँपालिकाका धेरै दिनदेखि लागिपरेको बताए । उनले सबैको सल्लाहसुझाव अनुसार प्रधानाध्यापक तथा शिक्षकहरुको हेरफेरको प्रक्रिया अघि बढेको बताए । विद्यार्थीहरुको नतिजा राम्रो आउन नसकेपछि यो कदम अघि बढाइएको र यो सफल हुने उनले विश्वास व्यक्त गरे ।


लुम्बिनी चिन्तन

थप समाचार