भैरहवा साउन २९/
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ रुपन्देहीले बिभिन्न मागहरु राख्दै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ५ बुँदे ज्ञापन पत्र बुझाएको छ । महासंघले सोमवार जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देही मार्फत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ५ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरेको हो । महासंघ रुपन्देहीका अध्यक्ष युवराज गुरुङ्गको नेतृत्व तथा महासंघका केन्द्रिय सदस्य सुशील गुरुङ्गको समुपस्थितिमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे तथा रुपन्देही शिक्षा ईकाइ प्रमुख माधव बन्जाडेलाई ज्ञापन पत्र प्रदान गरिएको थियो ।
मन्त्रिपरिषद्मा विचाराधिन रहेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुन’ संशोधन र एकिकरण गर्न बनेको विधेयक सरोकारवालासँग छलफल र परामर्श विना तयार गरेको विधेयकको मस्र्यौदा त्रुटिपुर्ण रहेकोले गंभिर ध्यानाकर्षण जनाएको छ ।
समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने भएकोले संघिय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखिनुपर्ने, व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्ने र अभिभावक भेला मार्फत व्यवस्थापन समिति गठन हुनुपर्ने, कार्यकाल ५ वर्षको हुनुपर्ने, खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट हुँदा व्यवस्थापन समितिको निर्णायक सहभागिता हुनुपर्ने र व्यवस्थापन समिति महासंघको भुमिका ऐनमा स्पष्ट व्यवस्था गरिनुपर्ने लगायतका वुँदाहरु समावेश गरिएको छ ।
कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश सदस्य नविन्द्रराज आचार्य, प्रदेश सदस्य झविन्द्र गैरे, जिल्ला उपाध्यक्ष हुमराज ढकाल, महासंघ तिलोत्तमाका अध्यक्ष जगत पौडेल, लिलाराम मा.वि.का अध्यक्ष तिलकराम ज्ञवाली, वेलहिया मा.वि.का अध्यक्ष देवराज न्यौपाने, भानु मा.वि.का सल्लाहकार कृष्ण प्रसाद खनाल, पक्लिहवा मा.वि.का सदस्य सलुजा रामदाम, टिकुलीगढ मा.वि.का अध्यक्ष फुलपति कंडेल, सिद्धार्थ आधारभुत विद्यालयका अध्यक्ष गोविन्द वस्याल लगायतको उपस्थिति रहेको थियो ।