भैरहवा भदौ ३/
नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति, रुपन्देहीले भैरहवास्थित लुम्बिनीगेट परिसरमा पुष्परोपण गरेको छ । सिद्धार्थनगरको हरियाली प्रवर्द्धन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले शनिबार सिद्धार्थनगर नगरपालिका–८ स्थित लुम्बिनी गेट परिसरमा पुष्परोपण गरिएको संघका अध्यक्ष उज्जवल कुमार दे कायस्थले बताए ।
विभिन्न उन्नत जात एवं बाह्रमासे फुल्ने फूलहरु रोप्ने कार्य (पुष्पारोपण) गरिएको कार्यक्रम संयोजक तथा नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीका कोषाध्यक्ष बिशन गुरुङले बताए । उनले रोपिएको विरुवाहरुको संरक्षणम पनि ध्यान दिने बताए ।
त्यस्तै भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले बुद्ध जन्मस्थल लुम्बिनी जाने बाटोमा गेट बनाउनुपर्छ भन्ने उद्देश्यले भैरहवामा लुम्बिनी गेटको निर्माण भएको बताए । उनले सिद्धार्थनगरलाई हरियाली बनाउने अभियानमा नेपाल कमर्शियल आर्टिष्ट संघको कार्यक्रमले सहयोग पुग्ने बताए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले लुम्बिनी गेट यस क्षेत्रको पहिचान भएको बताइन् । उनले रोपिएको फूलका विरुवाको संरक्षणमा ध्यान दिन आग्रह गरिन् । विकासका लागि जनसहभागीता आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीका अध्यक्ष उज्जवल कुमार दे कायस्थले आफूहरु राज्यबाट उपेक्षित भएको गुनासो गरे । कार्यक्रम संयोजक विशन गुरुङको स्वागत तथा राजन चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।