Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु


  • लुम्बिनी चिन्तन
  • चैत्र ६, २०८२ शुक्रवार
  • 124
    SHARES

लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु


भैरहवा चैत्र ६/
चिनियाँ दूतावासको संयोजनमा बुद्ध जन्मस्थल लुम्बिनीमा तीन दिने  “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६” सुरु भएको छ । 
विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित आयोजना गरीएको महोत्सवमा विभिन्न सांस्कृतिक, आध्यात्मिक तथा खेलकुद कार्यक्रमहरू समावेश गरिएका छन् ।
महोत्सवको पूर्वसन्ध्यामा बिहीबार साँझ आयोजित स्वागत कार्यक्रममा महोत्सवको उद्देश्यका बारेमा जानकारी दिइएको थियो ।
बिहीबार, शुक्रबार र शनिबार गरी तिन दिन हुने कार्यक्रममा शुक्रबार मायादेवी मन्दिर नजिकै “लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस” कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रममा विश्वभरका ध्यान अभ्यासकर्ता, बौद्ध धर्मावलम्बी तथा शान्ति प्रेमीहरू सहभागी हुने तय गरिएको छ ।
त्यसैगरी, शुक्रबार साँझ ५ः३० देखि ७ः३० बजेसम्म “लुम्बिनी पिस कन्सर्ट” कार्यक्रम लुम्बिनी स्क्वायर थिएटरमा राखिएको छ । कन्सर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता रहनेछ । महोत्सवको अन्तिम दिन शनिबार बिहान “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन” आयोजना गरिने भएको छ । 
म्याराथन पवित्र उद्यान क्षेत्रमै सञ्चालन हुनेछ । यसमा देश–विदेशका धावकहरूको सहभागिता रहने जनाइएको छ । महोत्सवले पनि धार्मिक पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
महोत्सवको पुर्वसन्ध्यामा आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामाले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास ब्यक्त गरे । यस्ता कार्यक्रमले नेपाललाई विश्व पर्यटन नक्सामा अझ सशक्त रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले अहिले विश्वभरमै शान्तिको खोजी भइरहेकाले लुम्बिनीबाट त्यसको सन्देश दिनेगरी कार्यक्रम आयोजना गरिएको जनाए । मानव कल्याणको केन्द्र बनाउन पनि आवश्यक रहेको बताए ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओसिङले  विश्वभर बढ्दै गइरहेको द्वन्द्वले शान्तिको खोजी भएको बताउँदै बुद्ध जन्मस्थलबाट सबैले त्यसको कामना गर्ने र सन्देश दिनेगरी कार्यक्रम आयोजना गरिएको बताए । विकास, सुरक्षा र शान्तिको लागि नेपालसँग सधै सहकार्य गरिरहेको बताउँदै आगामी दिनमा त्यसलाई निरन्तरता दिने उनले बताए  । 
नेपाल ओलम्कि कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चीनमा सबैभन्दा धेरै बौद्धमार्गी भएकाले पनि लुम्बिनीसँग यसको गहिरो सम्बन्ध रहेको बताए । लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामसहितका बुद्धिस्थ केन्द्रहरुलाई ध्यानमा राखेर ओलम्पिक कमिटीले निरन्तर कार्यक्रम गरिरहेको सो अवसरमा उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार