भैरहवा, साउन ०७ । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीहले राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत उनिहरुले राजीनामा दिएको जानकारी गराएको हो । उनीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।मन्त्रीहरुले राजीनामा दिनुअघि अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेका थिए । माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योगा पर्यटन वन तथा वातावरणमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णालीमा माओवादीका मन्त्रीले राजीनामा दिएका हुन् । यी चारजना मन्त्री गत वैशाख १८ मा मन्त्रीमा नियुक्त भएका थिए ।मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राजीनामा दिनुअघि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने बताए ।माओवादी संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सरकारबाट बाहिरिने विषयमा निर्णय गरेका छैनन् । उनी हाल काठमाडौंमा छन् ।