बुटवल ।
सरकार परिवर्तनको कसरत भएपछि शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गर्ने निर्यण गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले मंगलबार रातीदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
छिट्टै बजेट अधिवेसन सुरु गर्ने तयारी स्वरुप अधिवेसन अन्त गर्न लागेको चौधरीले बताए । यता लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सभा सदस्य थिए ।
नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए । ‘प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार माननिय सदस्य श्री दधिराम न्यौपाने र माननिय सदस्य श्री दिनेश पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरो सम्मानित सभालाई जानकारी गराउँछु ।’
सभामुख घर्तिले प्रदेश सभालाई जानकारी गराउँदै भने । दुई जनाको पद रिक्त रहेको घोषणा गरेसँगै चालु संसदको अधिवेसन पनि अन्त भएको छ ।