Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोहिणीले ल्यायो ५८ करोड ७९ लाखको बजेट


  • लुम्बिनी चिन्तन
  • श्रावण १७, २०८१ बिहिवार
  • 496
    SHARES

रोहिणीले ल्यायो ५८ करोड ७९ लाखको बजेट


भैरहवा, १७ साउन । रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५८ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १५ औं गाउँसभामा उपाध्यक्ष शिवकान्ती हरिजनले वार्षिक बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 
प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ रु. २ करोड ६१ लाख १४ हजार, संघीय सरकारबाट प्राप्त रु. ४८ करोड ६५ लाख, प्रदेश सरकारबाट प्राप्त रु. ३ करोड ११ लाख १४ हजार, बैंक मौज्दात रु. ३ करोड ७० लाख, जिल्ला समन्वय समितिबाट रु. ७२ लाख अनुमान गरिएको छ । 
त्यस्तै विनियोजनतर्फ प्रदेश सरकारबाट प्राप्त सर्शत अनुदान समपुरक र विशेष रु.१ करोड ८५ लाख, संघीय सरकार सशर्त समपुरक विशेष रु. २६ करोड २९ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक रु. १० करोड, शिक्षातर्फ रु. ३ करोड, क्रमागत योजना/समपुरक रु. २ करोड ७५ लाख, गाउँपालिका प्रशासनिक भवन रु.३ करोड  विनियोजन गरिएको छ ।
आर्थिक, सामाजिक, पूर्वाधार विकास र संस्थागत सुशासनमार्फत गरीबी निवारण गरी समृद्ध रोहिणी निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढ्ने उपाध्यक्ष हरिजनले बताइन् ।
गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, पूर्वाधार विकास, महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत लक्षित समुदाय, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिदै आ.व. २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । 
धकधईमा १५ शैयाको आधारभूत अस्पताल निर्माणको कार्य यसै वर्षबाट सुरु हुने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । त्यस्तै बुद्धकालीन रोहिणी सभ्यताको उत्थान, विकास, संरक्षण र प्रवद्र्धनका लागि प्रचारप्रसार, अभिमुखीकरण र अन्तरिक्रयाका लागि आवश्यक पहल गरिने उनले बताए । WhatsApp Image 2024-08-01 at 12.39.33 PM (1).jpeg
कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने उनले बताए । त्यस्तै शैक्षिक क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन तथ जनशक्ति व्यवस्थापन गर्न गाउँपालिकाको शिक्षा नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । त्यसै गरी हाम्रो रोहिणी सुन्दर र सफा रोहिणी भन्ने नाराका साथ सरसफाईलाई सभ्यता र स्वास्थ्यको दृष्टिकोणबाट हेर्न जनमानसलाई सचेत गराइने अध्यक्ष यादवले बताए ।
१५ औं गाउँसभाको उद्घाटन गर्दै प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले रोहिणीको विकासका लागि सामूहिक प्रयत्न र पहल अवश्यक रहेको बताए । उनले विकासका लागि स्थानीय जनताको योगदान आवश्यक रहेकोमा जोड दिए ।
रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँ, वडा सदस्य मोहम्मद अमिन खाँ लगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी, विद्यालय, पूर्वशिक्षक, पत्रकार, कर्मचारीलगायतलाई सम्मान गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार