भैरहवा, ४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार (आज) विश्वासको मत लिँदैछन् । गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदैछन् । चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन थालेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार मंगलबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभा बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जना प्रदेश सभा सदस्यहरुको समर्थनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत पाउने पक्का छ । ८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।एमाले–कांग्रेसबाहेक उनलाई साना राजनीतिक दलले समेत विश्वासको मत दिने बताइसकेका छन् । एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले प्रदेश सभामा रहेका बढी भन्दा बढी राजनीतिक दल र सांसदको समर्थन जुटाउने गरी तयारी रहेको बताए ।मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका छन् । एमालेले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप लगाएको प्रमुख सचेतक चौधरीले बताए ।त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई ह्वीप लगएाका छन् । सरकारलाई समर्थन गरेका जनमत पार्टीको दल नेता चन्द्रकेश (सि.के.) गुप्ता र लोकतान्त्रिक समाजवादी पाटी नेपाल (लोसपा) का दल नेता सन्तोष कुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने र सांसदलाई हृवीप जारी गरेको बताए ।प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये जनता समाजवादी पार्टी (जसपा) का २, जसपा नेपालका १ र नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसदले समर्थन गरेका छन् ।