भैरहवा असोज १९।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटनमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारले सबै प्रकारको भूमिका निर्वाह गर्ने बताएका छन् ।
सिद्धार्थ होटल संघको आयोजनामा भैरहवामा सुरु भएको सडक खाना महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटनमैत्री वातावरण बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका हुन् ।
लुम्बिनीको विकासको लागी पर्यटनमैत्री वातावरण बनाउने जिम्मेवारी तपाई हामी सबैको हो’उनले भने,‘स्वेदशी तथा विदेशी पर्यटकलाई लुम्बिनीमा भित्र्याउन सबैले पहल गरौं । त्यसका लागि सरकार सहकार्य गर्न तयार छ ।’ पर्यटनमैत्री वातावरण निर्माणका लागि सरकारले आफ्नो भूमिका बढाइसकेको उनले जानकारी दिए ।
त्यस्तै मुख्यमन्त्री आचार्यले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु गर्ने सम्वन्धमा उच्चस्तरीय पहल भएको र त्यसले निकास दिने विश्वास व्यक्त गरे । ‘यो विमानस्थल चलाउन माथिल्लो स्तरमा पहल भएको छ । सम्माननीय प्रधानमन्त्रीलाई भेटेर गम्भिर रुपमा विमानस्थलको कुरा उठाएका छौं’उनले भने,‘केही समयभित्र सुखद खबरहरु पाउनेछौं ।’
सडक खाना महोत्सवले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको मुख्यमन्त्री आचार्यको विश्वास छ । लुम्बिनी प्रदेशका १२ जिल्लालाई जोड्ने गरी पर्यटन सर्किट बनाउने र लुम्बिनी आउने पर्यटकलाई धेरै दिन भुल्ने वातावरण निर्माण गर्ने गरी काम अघि बढेको उनले जानकारी दिए ।
महोत्सव उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँल, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठगायतले सम्बोधन गरेका थिए ।
विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल संघ, नेपालले सडक खाना महोत्सव–२०८१ आयोजना गरेको हो । नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए ।
भैरहवाको देवकोटा चोकदेखि हाटबजारसम्म दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरुसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको छ ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघ–संस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्यूजिकल नाइट–२०८१’ आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ ।
महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सवमा रमाउन आउने विश्वास गरिएको छ ।