भैरहवा, ११ चैत्र । सिद्धार्थनगर नगरपालिका वडा नं. ८, मा अवस्थित ‘भैरहवा सिटी किड्स केयर’ मन्टेस्वरीको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष मनिता घलेको अध्यक्षता तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सदस्य युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ्गले वर्तमान परिवेशमा कामकाजी अभिभावकहरुले आफ्ना बाल–बच्चाहरुलाई प्रयाप्त समय दिन नसकिरहेको अवस्थामा मन्टेश्वरी शिक्षाले बच्चाहरुको मानसिक स्वास्थ्य, पोषण खानेकुरा, खेलकुद, संगीत, अनुशासन, सकारात्मक क्रियाकलापमा अग्रसर गराउन ठूलो टेवा पुगेको, र यसले भविष्यमा असल तथा दक्ष नागरिकको निर्माणमा समग्रमा राष्ट्रलाई नै योगदान पुग्ने बताउनुभयो । 
कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गायन, वाचन शैलीको माध्यमबाट आफ्ना प्रतिभाहरु प्रस्तुत गरेको थियो भने त्यहाँबाट उतीर्ण भएका विद्यार्थी तथा अभिभावकहरुलाई खादा तथा संझनाको चिनो मार्फत सम्मान गरिएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं. ६ का जनप्रतिनिधि अनिल केसी, अभिभावक दिनेश गौतमले यस मन्टेश्वरीले आफ्नो स्थापनाकालदेखि नै बाल–बच्चाको शैक्षिक क्रियाकलापमा राम्रो प्रभाव पारेको र भविष्यमा संस्थाको अझ प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालयका प्राचार्य अन्जु पाण्डेको स्वागत र शिक्षिका भुमिका पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।


