भैरहवा, चैत्र २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई यति एयरको विमानमार्फत भैरहवा ल्याइएको छ। लामिछानेलाई शुक्रवार उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा राख्न आदेश गरेपछि प्रहरीले उनलाई गएराति पक्राउ गरेको थियो।
उनलाइ यसअघि सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। आदेश चित्त नबुझेकोले पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्न र लामिछाने धरौटी खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दिएक थिए।
उक्त निवेदनमाथि सुनुवाई गर्दै शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो।
कारागार चलान गर्नुअघि अदालतमा उपस्थित गराउनुपर्ने भएकोले सार्वजनिक विदा पश्चात लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाइने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए। उनका अनुसार शनिवार (आज) र आइतबार (भोलि) सार्वजनिक विदा रहेकोले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ। लामिछानेलाई एयरपोर्टबाट सिधै जिल्ला प्रहरी कार्यालय लगिएको छ ।