भैरहवा चैत्र २५,
सहकारी ठगी अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने रुपन्देही कारागार चलान भएका छन् । उनलाई सोमवार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कारागार चलान गरिएको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइ जेल चलान गरिएको थियो ।
जिल्ला कारागार रुपन्देहीमा पुराएपछि लामीछानेको स्वास्थ्य परिक्षण गरिएको जिल्ला कारागार रुपन्देहीका प्रसाशन प्रमुख सुरेस भण्डारीले जानकारी दिए ।
उनलाई जिल्ला कारागारको चौथौ ब्लकमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेपछि सरकारी वकिल कार्यालय र लामिछाने दुवै उच्च अदालत पुगेका थिए । उच्च अदालतले गत शुक्रवार सुनुवाई गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।
अदालती प्रक्रिया मिचेर रविलाई पक्राउ गरेको प्रहरीले तीन रातसम्म हिरासतमा राखेर सोमवार जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरेको छ । शुक्रबार पक्राउ गरिएका रविलाई काठमाडौंमा राखेर शनिबार बिहान हवाईमार्गबाट रुपन्देही ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।