भैरहवा – गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल नियमित संचालन हुन नसकेपछि रुपन्देहीको निजी क्षेत्र आन्दोलित भएको छ ।
उधोग ब्यापार संगठन रुपन्देहीको अगुवाईमा बुधबार बिमानस्थल गेट अगाडी ब्यावसायिहरुले एक घण्टा धर्ना दिएका थिए ।
लामो प्रतीक्षापछि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अझैसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु नभएपछि रुपन्देहीका व्यवसायीहरू आक्रोशित बन्दै आएका छन् । उनिहरुले रुपन्देहीमा बिभिन्न काम बिषेशले आएका सबै राजनैतिक दलका प्रमुख नेताहरुलाई बिमानस्थल संचालनको माग गर्दै ज्ञापन पत्र बुझाउदै आएका छन् ।
स्थायीत्वपूर्ण समाधानको माग गर्दै उनीहरूले बुधवार बिहान दश बजे देखी एघार बजे सम्म विमानस्थलको मुख्य गेटअगाडि धर्ना र विरोध प्रदर्शन गरेका थिए । हामीले शान्तीपुर्ण रुपमा बिरोध गरेका छौ यसलाई सरकारले कमजोर नसोचोस उधोग ब्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भने । धर्ना कार्यक्रममा रुपन्देहीका दुई दर्जन बढी संघ संस्थाका प्रतिनीधीहरु सहभागी थिए ।
विमानस्थलको लापर्वाहीपूर्ण व्यवस्थापनप्रति तीव्र असन्तुष्टि जनाउँदै, चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान नियमित गर्न सरकार र सम्बन्धित निकायलाई सहभागीहरुले आग्रह गरेका छन् । चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले रुपन्देहीका सबै व्यवसायिक संस्थाहरूले एकीकृत आन्दोलन गरेर सरकारलाई माग पूरा गर्न दबाब दिनुपर्ने खाँचो औंल्याए ।
संगठनका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले सरकारले काठमाडौं केन्द्रित ठूला व्यापारी र बिचौलियाको दबाबमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बेवास्ता गरेको आरोप लगाए । ‘विमानस्थलको आशामा भएको लगानी जोखिममा छ,’ उनले भने, ‘।
बिमानस्थल नियमित संचालनको लागी आन्दोलनको बिकल्प नरहेको सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । यो विमानस्थल संचालन नहुनु सरकारको ठूलो षडयन्त्र हो उनले भने । 
सिद्धार्थ सहकारी संजालका अध्यक्ष कुल प्रसाद न्यौपानेले बिमानस्थल नियमित संचालनको लागी नागरीक स्तर बाटै आन्दोलनमा होमिन सबै सरोकारवाला निकायलाई आग्रह गरे ।
यसैगरी सिद्धार्थ उधोग बाणिज्य संघका अध्यक्ष नेत्र आर्चायले बिमानस्थल नियमित संचालन गर्ने हो भने कसैको झोले नबनौ , निजी क्षेत्र एक होउ भन्दै आन्दोलनमा होमिन सबैलाइ आब्हान गरे ।
लुम्बिनी ईट्टा ब्यावसायि संघका अध्यक्ष अजय गुप्ताले बिमानस्थल काठमाण्डौका केही ब्यावसायिहरुले आफुअनुकुल संचालन गरीरहेको बताउदै सरकार मुक दर्शक बनेको उल्लेख गरे । यदि तत्काल सुधार भएन भने आन्तरिक उडान अवरुद्ध गर्ने, मन्त्रीहरूको बहिष्कार गर्ने र काठमाडौंमै पुगेर मन्त्रालय घेराउ गर्ने जस्ता चरणबद्ध आन्दोलनको चेतावनीसमेत दिए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई क्षेत्रीय समृद्धिको ढोका मानिएको थियो। तर, आवश्यक नीतिगत र व्यवस्थापकीय सक्रियता नहुँदा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन। फलस्वरूप, पर्यटन, व्यापार र लगानीका अवसरहरू खेर गइरहेका छन्।
स्थानीयको आवाज दिनानुदिन बलियो बन्दै जाँदा अब सरकार र सम्बन्धित निकाय चुप लागेर बस्न सक्ने स्थिती नभएको सहभागीहरुको भनाई थियो ।