Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चेतन दाइको सम्झना


  • लुम्बिनी चिन्तन
  • श्रावण १०, २०८२ शुक्रवार
  • 1.8K
    SHARES

चेतन दाइको सम्झना

मनोरञ्जन शर्मा

भैरहवा – चेतन दाइ (वरिष्ठ सञ्चारकर्मी, भैरहवा) सङ्ग मेरो सामीप्यता २०६२ साल मङ्सिरबाट सुरु भएको थियो।

त्यति बेला म नेपाल वन टिभीमा पाल्पा, गुल्मी र अर्घाखाँचीको रिपोर्टिङ पाल्पा सदरमुकाम तानसेनमा बसेर गर्दथेँ। मेरो गृहजिल्ला पनि पाल्पा नै थियो।

अचानक टिभीले हाललाई पाल्पा छोडेर बुटवल झर्नू भन्यो। मैले पारिश्रमिकको कुरा गर्दा त्यति बेला १० हजार रुपैयाँ मासिक प्राप्त हुने र अन्य सेवा सुविधा पनि पाइने आश्वासनपछि म अर्को दिन बुटवल झरेँ। तर मैले गन्तव्य भने भैरहवा बनाएँ।

समाचारमा खिचेका क्यासेट (भिडियो फाइलहरू) विमानस्थलबाट काठमाडौँ पठाउनु पर्थ्यो दिनहुँजसो। त्यसैले भैरहवा गन्तव्य बनाएँ। साथै मामाघर मधवलिया र ससुराली पनि भैरहवा सेरोफेरो रहेका कारण थप सहज भयो। त्यति बेला देश द्वन्द्वको चरम भुमरीमा थियो। कति बेला कहाँ के हुन्छ थाहा थिएन।

भैरहवा आएको अर्को दिन महेन्द्र सभागृहमा राजदरबारसम्बन्धी एक कार्यक्रम थियो। थाहा पाएर त्यहाँ गएँ। खासै कसैलाई चिन्दिन। चेतन दाइ उद्घोषण गर्नु भएको थियो। उहाँका भाइ शम्भु पन्तले छायांकन गर्दै हुनुहुन्थ्यो।

चेतन दाइ इमेज टिभीमा र शम्भु दाइ नेपाल टिभीमा काम गर्नुहुन्थ्यो। ती बाहेक माधव ढुंगाना (कान्तिपुर), कुलमणि ज्ञवाली (समाचारपत्र) र सारदा मल्ल (च्यानल नेपाल) सङ्ग त्यही परिचय भयो। पछि दिपेस पछाइ, टीपी भुसाल र मुकेश पोखरेल सङ्ग परिचय भयो।

शम्भु दाइको मिलन चोकमा "फोटो फेमस" नामको स्टुडियो थियो। म सङ्ग त्यति बेला क्यामेरा नभएकोले त्यहीँ गएर कार्यक्रमको भिडियो मागेको मौकामा चेतन दाइ पनि त्यहीँ हुनुहुन्थ्यो। उहाँ सङ्ग परिचय भएपछि भिडियो दिनुभयो र काठमाडौँ पठाउन विमानस्थल गएँ। समाचार फ्याक्स गरेर पठाएँ।
त्यस दिनदेखि दाइ सङ्ग सामीप्यता बढ्यो र यो क्रम बिस्तारै बढ्दै गयो। पछि विभिन्न कार्यक्रममा चेतन दाइ सङ्गै हिँड्न थालियो।

चेतन दाइको ४ जनाको सानो परिवार — भाउजू गङ्गा पन्त, छोराहरू उत्सव पन्त र उमंग पन्त। सानो परिवार, सुखी परिवार।

हिँड्दै हिँड्दै थाहा पाएँ, उहाँको लगाव अनि झुकाव लुम्बिनीमा बढी थियो। प्रायः जानुहुन्थ्यो। म पनि उहाँको झुकाव र लुम्बिनीप्रतिको मोह थाहा पाएर अझ बढी नजिक हुन खोज्थेँ। मलाई पर्यटन र अर्थतन्त्रसम्बन्धी समाचारमा बढी रुचि थियो। पछि आर्थिक कारोबारमा जोडिएपछि आर्थिक–पर्यटन समाचार बढी लेख्न थालेँ।

दाइ देश–विदेशमा भ्रमण गर्नुहुन्थ्यो। हामी उहाँको भ्रमणको स्मरण सुन्दै आफैँ देश–विदेश गएको अनुभव गर्थ्यौँ।
म पनि २०६३ असारबाट भैरहवामा घर भाडामा बस्न थालेँ। श्रीमती सरिता सापकोटा र छोरी अभिलाषा शर्मा (हाल क्यानाडा) लाई पनि भैरहवा बोलाएर सङ्गै बस्न थाल्यौँ। छोरी २ वर्षकी थिइन्।

समयक्रम बढ्दै गयो। दाइको रुचि फोटोग्राफी र डकुमेन्ट्री निर्माणमा पनि थियो। साथै चराचुरुङ्गी र तालतलैयाको भिडियो–फोटोमा पनि लगाव भएकाले कहाँ कहाँ पुग्नुहुन्थ्यो। कति ठाउँमा म पनि सङ्गै जान्थेँ त, कति ठाउँमा दाइ एक्लै गएर पछि "मनोरञ्जन, आज यो बनाएँ, हेर्न त" भनेर देखाउनुहुन्थ्यो। म पनि हेर्थेँ।

पछि दाइको जेठो छोरा उत्सव पन्तको अमेरिका डिभी परेर उतै गए। अहिले पनि अमेरिकामै छन्।

कान्छो छोरा उमंग पन्त पनि पछि अस्ट्रेलिया गएपछि घरमा दाइ र भाउजू मात्रै।
दाइले त्यसबिचमा राष्ट्र बैंक, सिद्धार्थनगरमा काम गर्नुहुन्थ्यो।
दाइले बिच–बिचमा आफ्ना जीवनका रमाइला कुरा सुनाएर हँसाउनुहुन्थ्यो।

यही बिचमा दाइ सङ्गै थाइल्याण्ड २ पटक, श्रीलंका, मलेसिया भ्रमण गरियो। पर्यटन प्रवर्द्धन मुख्यगरी बुद्ध जन्मस्थल लुम्बिनीको थियो।
त्यहाँ दाइले खिचेको, तयार पारेको लुम्बिनी सम्बन्धी डकुमेन्ट्री, फोटोहरू प्रदर्शन गरिन्थ्यो।
भारतको श्रावस्ती, बोधगया, कुशीनगर पनि सङ्गै गइयो धेरै पटक। नेपालका धेरै ठाउँमा पनि सङ्गै गइयो।

दाइ सिद्धार्थ होटल संघ (SAN) को पर्यटन सल्लाहकार हुनुहुन्थ्यो भने प्रेस सल्लाहकार पनि।
SAN का अध्यक्ष सिपी दाइ (चन्द्रप्रकाश श्रेष्ठ) सङ्गै हामी भारतका विभिन्न सहर र नेपालका धेरै स्थानमा पर्यटन प्रवर्द्धन कार्यक्रममा गइन्थ्यौँ।

भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न भएर सञ्चालनमा आउनुपर्छ भनेर भिडियो, फोटो र समाचारमार्फत दवाब दिइराख्नुहुन्थ्यो।

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध जीवनमा आधारित रुपन्देही, कपिलवस्तु, नवलपरासीको प्रवर्द्धनका लागि हामी प्रायः लुम्बिनीका भिक्षु मैत्री महास्थविर सङ्गै हुनुहुन्थ्यो।
दाइ र भिक्षु मैत्रीको मित्रता पहिलेदेखिकै थियो भने मलाई दाइले चिनाइदिनुभएको थियो।
उहाँ सङ्गै हामी लङ्का गएका थियौँ।

समयक्रम बढ्दै गयो। उहाँ सङ्ग सामीप्यता बढ्दै गयो।
भिक्षु मैत्री सङ्ग पनि, हामी तीन जना खुब मिल्थ्यौँ। बुद्ध दर्शनका कुरा उहाँबाट सुन्थ्यौँ।

यही क्रममा भिक्षु मैत्रीलाई प्राणघातक रोग क्यान्सर (आन्द्रा) देखियो। अहिले पनि उहाँ उपचारमै हुनुहुन्छ।

दाइको एउटा बानी थियो — पान र पान मसला खाने। केही खाइसकेपछि दाँत सिँगाले कोट्याउने बानी थियो।
तर, स्वास्थ्यको एकदमै केयर गर्नुहुन्थ्यो।

२०७८ को अन्तिमतिरको कुरा हो — दाइ र भाउजू माता वैष्णोदेवीको दर्शन गरेर फर्कँदा बनारस हिन्दू विश्वविद्यालय (BHU) मा परीक्षण गर्दा गिजामा क्यान्सर रहेको प्रमाणित भयो।
यो २०७८ चैतको कुरा हो।
दाइले त्यहीँ शल्यक्रिया गर्ने निर्णय गर्नुभयो, घर–परिवारको सरसल्लाहमा।

छोराहरू पनि आइपुगे।
दाइ भैरहवा आएर शल्यक्रियाको लागि बनारस जानुभयो।
२०७८ चैत अन्तिममा दाइको शल्यक्रिया सम्पन्न भयो र केही समय बनारसमै बस्नुभयो।
पछि नियमित परीक्षण दिल्लीमा गर्नुहुन्थ्यो र केही किमो थेरापी पनि त्यहीं चढाउनु पर्‍यो।

अमेरिकामा रहेका छोरा उत्सवले बुवाको उपचारमा निकै आर्थिक सहयोग गरे।
आफ्नो त्यहाँको व्यवसायको वास्ता नगरी बुवाको उपचारमा जुटिरहे।
अस्ट्रेलियामा रहेका छोरा उमंगले पनि सक्दो सहयोग गरे।
उनी अस्ट्रेलिया छाडेर प्रायः सङ्गै हुनथे बुवा–आमासित।

गङ्गा भाउजुले दाइको रात–दिन स्याहार गर्नुभयो।

२ वर्षपछि — २०८० जेठतिर — दाइ फलोअपमा दिल्ली जाँदा अर्कोपट्टि पनि क्यान्सर फैलिएर आएको थाहा भयो।

बुवाको स्वास्थ्य ठीक भयो भनेर विदेश गएका छोराहरू पुनः फर्के।
दाइ २०८० साउनमा काठमाडौँ आएर हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा किमो थेरापी

लगाउन त्यहीं परिवारसहित बस्न थाल्नुभयो।

दाइलाई विस्तारै रोगले गाल्दै लग्यो।
छोराहरूले “बुवा निको हुनुहुन्छ” भनेर धेरै खर्च गरे।

गङ्गा भाउजुका अनुसार दाइको उपचारमा २ करोडभन्दा बढी खर्च भयो।
यही बिचमा मलाई पनि त्यही २०८० भदौबाट क्यान्सरले समात्यो।
अहिलेसम्म पनि उपचारमा छु।

२०८१ असारमा दाइलाई भैरहवा घर ल्याइयो।
जेठो छोरा उत्सव अमेरिका बाट आइसकेका थिए भने कान्छा छोरा उमंग बुवा–आमासितै थिए।

अन्ततः दाइले २०८१ साउन २० गते यस धर्तीबाट बिदा लिनुभयो।
त्यति बेला म शल्यक्रिया पछि काठमाडौँमै थिएँ।

राति फेसबुकमा देखेपछि खुट्टा लररलर काँपे, शरीर चिसो भयो।
रातभर सुत्न सकिनँ।
अझै पनि विश्वास लाग्दैन, दाइ हुनुहुन्न भनेर।

प्रायः पछिल्लो समय बिहान घरमा आएर “सरिता, ग्रीन टी बनाऊ” भन्नुहुन्थ्यो।
अहिले पनि त्यस्तै लाग्छ — आउनुहुन्छ कि भनेर।
छोरा आगमनले “हजुरबुवा आउनुभयो” भन्थ्यो।

दाइको तिथि अनुसार आज शुक्रबार वार्षिक पुण्यतिथि हो।
मैले आजसम्म दाइलाई श्रद्धाञ्जली दिन सकेको थिइनँ।
आजै यो लेखमार्फत दाइलाई श्रद्धाञ्जली अर्पण गर्दै भाउजू गङ्गा, भतिजहरू उत्सव र उमंग तथा सम्पूर्ण परिवारमा समवेदना प्रकट गर्न चाहन्छु।

(लेखक शर्मा — विगत २ वर्षदेखि क्यान्सरको उपचारमा रहेका, भैरहवाबाट प्रकाशित “न्यूज ओके” का सम्पादक हुन्।)

 


लुम्बिनी चिन्तन

थप समाचार