भैरहवा, असार २५ । भूमि सम्बन्धी कानुन संशोधन गर्न लागिएको सरकारी विधेयक नेपाली कांग्रेसको असहमतिपछि प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ।
‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बुधबारको संसद् बैठकमा छलफलका लागि प्रस्तावित थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयकमाथि दफावार छलफल अघि बढाउने तयारी गरेका थिए।
तर, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले विधेयकप्रति असहमति जनाएपछि संसद् सचिवालयले सम्भावित कार्यसूचीबाट नै विधेयक हटाएको हो।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिहानै विधेयकबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै, पर्याप्त गृहकार्य र सहमति बिना विधेयक अघि बढाउन नहुने बताए। “लटरपटर गरेर विधेयक अघि बढाउने प्रयास नगर्न सरकारलाई आग्रह गर्दछु,” शर्माले लेखेका छन्।
शर्माले विधेयक सदनमा टेबल गर्नुअघि व्यापक संवाद र संशोधन आवश्यक रहेको धारणा राखेका छन्। उनले यो विषय संसद्मा टेके पनि सहमति र संवाद बिना अघि बढाउन नहुने भन्दै सचेत गराएका छन्।
सरकारको तयारीलाई कांग्रेसको चेतावनीले केही समयका लागि रोकिएको देखिए पनि, अबको प्रक्रियामा दलहरुबीचको सहमतिको खोजी निर्णायक हुनेछ।