भैरहवा, साउन १४ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज अपराह्न बस्ने राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
उक्त सम्बोधन विकास, आर्थिक मामिला तथा सुशासन समितिले प्रस्तुत गर्ने "नेपालको अतिकम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति" सम्बन्धी २०८१ को अध्ययन प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफस्वरूप हुनेछ।
बैठकको अर्को कार्यसूचीअनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले "चलचित्र विधेयक, २०८१" लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन्।
त्यस्तै, समितिका सभापति कमला पन्तले एलडिसी ग्रयाजुएसनसम्बन्धी प्रतिवेदनमाथि औपचारिक छलफल गर्न प्रस्ताव राख्नेछिन्।
साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रीहरूको कार्यविभाजनसम्बन्धी पत्रहरू पनि बैठकमा जानकारीको रूपमा प्रस्तुत गरिने कार्यसूचीमा समावेश गरिएको छ।