भैरहवा, साउन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान कारागारमै भेटेपछि रास्वपा सांसदहरू बैठकमा सहभागी भएका हुन्। बैठक भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको होटेल रमदामा बुधबार दिउँसो पौने २ बजेबाट सुरु भएको हो।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल भइरहेको छ। यसमा ‘कुलिङ अफ पिरियड’ को कानुनी जटिलता, कार्तिक १७ मा हुने रुपन्देही–३ उपनिर्वाचन, भिजिट भिसासम्बन्धी समस्या, र हालै सुरु गरिएको हस्ताक्षर संकलन अभियान मुख्य एजेन्डा हुन्।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले लगायत १५ जना सांसद सहभागी बैठक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको हो। रास्वपाका २१ जना सांसदमध्ये अधिकांश बैठकमा सहभागी छन्।
पार्टीका नेताहरूका अनुसार भैरहवामा बैठक गर्नुको एउटा उद्देश्य स्थानीय तहमा रास्वपाको गतिविधिलाई तीव्र पार्नु र सभापति लामिछानेलाई समेत मनोबल दिनु हो। बैठकले उपनिर्वाचन केन्द्रित रणनीति बनाउने, र रुपन्देहीमा उम्मेदवार चयन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। इच्छुक व्यक्तिहरूले उम्मेदवारीका लागि आवेदन दिन थालेका छन्।