भैरहवा, साउन १४ । जनसेवा कृषी सहकारी संस्था लि., ओमसतिया–२, पडसीमा खाध मल वितरणमा अनियमितता भएको भन्दै स्थानीय किसानहरूले विरोध जनाएका छन्। उनीहरूले सहकारी कार्यालयका कर्मचारीमाथि मल लुकाएको, आफन्त र चिनजान भएका व्यक्तिहरुलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।
किसानहरूका अनुसार, कार्यालयमा ७ बोरा मल लुकाएर राखिएको पाइएको छ। “हामी बिहान ६ बजेदेखि घाममा लाइन बसेर पर्खिन्छौं, तर बाहिरबाट आएका व्यक्तिहरू सजिलै मल लिएर जान्छन्,“ आन्दोलित किसानले भने।
किसानहरूले प्रश्न गरेका छन्, “यदि मल सकिएको हो भने त्यो लुकाएर राखिएको मल के हो?“ आन्दोलनमा उत्रिएका किसानहरूले कार्यालयको ढोका अगाडि नाराबाजी समेत गरेका छन्।
दोस्रो पक्षमा, सहकारी कार्यालयका कर्मचारीहरूले मल वितरण प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गरेका छन्। कर्मचारीहरूका अनुसार, मल कम मात्रामा प्राप्त भएको र वितरण गर्दा पहिला कार्ड बुझाएका किसानलाई प्राथमिकता दिइएको हो।
“१०२ बोरा मल आएकोमध्ये ९५ बोरा वितरण भइसकेको छ,” व्यवस्थापक बाबुराम न्यौपानेले जानकारी दिए। उनका अनुसार बाँकी मल सरसफाई कर्मी र सहकारीले खुल्ला बिक्रीका लागि छुट्याइएको हो।
व्यवस्थापक न्यौपानेले भने, “सरकारबाटै मल थोरै मात्रामा प्राप्त हुन्छ, किसान धेरै छन्, सबैलाई पुग्ने गरी वितरण गर्न गाह्रो पर्छ।” उनले किसानहरूको आक्रोश व्यवस्थापनको कमजोरी नभएर आपूर्तिको अभावका कारण भएको बताए।
तर किसानहरू भने सहकारीले आफन्त र जानपहिचान भएकालाई मात्र मल बाँडेको आरोप लगाइरहेका छन्।
“हामीले महिनावारी बचत गरेका छौं, सेयर दिएका छौं, नियम अनुसार मल पाउने हाम्रो अधिकार हो, तर यहाँ मनोमानी छ,“ पीडितहरूले भने।
विवाद बढ्दै गएपछि सहकारीप्रति जनआक्रोश तीव्र बनेको छ। किसानहरूले निष्पक्ष छानबिन र पारदर्शी वितरण प्रक्रिया लागू गर्न सरकारसंग माग गरेका छन्।