Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मनसुनजन्य विपद् जोखिमः सरकार ‘हाइअलर्ट’ मा, कार्यवाहक प्रधानमन्त्रीको सबै निकायलाई शतर्क रहन निर्देशन


  • लुम्बिनी चिन्तन
  • श्रावण २१, २०८२ मंगलवार
  • 254
    SHARES

मनसुनजन्य विपद् जोखिमः सरकार ‘हाइअलर्ट’ मा, कार्यवाहक प्रधानमन्त्रीको सबै निकायलाई शतर्क रहन निर्देशन

काठमाडौँ, साउन २० – देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सम्बद्ध सबै सरकारी निकायलाई उच्च सतर्कताका साथ तयार रहन निर्देशन दिएका छन्।

शहरी विकास मन्त्रालयमा आज सम्पन्न उच्चस्तरीय बैठकमा सिंहले सम्भावित प्राकृतिक विपद्को सामना गर्न अग्रिम तयारीमा रहन, जोखिम भएको क्षेत्रमा सूचनाको प्रभावकारी प्रसारण गर्न र उद्धारका लागि ‘हाइअलर्ट’ मा बस्नुपर्नेमा जोड दिएका हुन्।

बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, प्राधिकरण प्रमुख दिनेश भट्ट, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल तथा मौसम विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बिनी प्रदेश अन्तर्गत दाङ, बाँके र बर्दियामा सक्रिय पानी पार्ने प्रणालीका कारण बबई र राप्ती नदी आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको जानकारी दिए। उनका अनुसार, बर्दियामा आगामी ४–५ घण्टाभित्र डुबानको सम्भावना रहेको छ।

यस्तै, मधेस प्रदेशमा देखिएको खडेरीका विषयमा कार्यवाहक प्रधानमन्त्रीले चासो व्यक्त गरेपछि प्राधिकरण प्रमुखले हाल हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको बताए।

मौसम विभागले राति कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै मकवानपुरमा पनि वर्षा प्रणाली सक्रिय हुने अनुमान गरेको छ।

गृहमन्त्री लेखकले सबै प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको जानकारी गराएका छन्।

बैठकमा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरूले बाढी, पहिरो लगायतका मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन समन्वयात्मक रूपमा पूर्वतयारी र राहत व्यवस्थापनमा जुट्न सहमति जनाएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार