भैरहवा, साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पेश गरेको रिहाइसम्बन्धी निवेदनमा आज सुनुवाइ हुँदैछ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा जिल्ला अदालतमा निवेदन दर्ता गराउँदै आफूलाई बैंक जमानतमा रिहा गर्न अनुरोध गरेका थिए। उनले बिगो वापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरिसकेको दाबी गरेका छन्।
यसअघि, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। हाल उनी भैरहवा कारागारमा छन्।
निवेदनमा लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानतमा रिहाइको माग गरेका छन्। सो दफाले अभियुक्तलाई धरौटी वा बैंक जमानतमा छाड्न सकिने व्यवस्था गरेको छ। साथै, दफा ७१ मा कारबाहीको जुनसुकै चरणमा पनि अदालतले अभियुक्तलाई थुनामुक्त गर्न सक्ने प्रावधान छ—यदि अभियुक्त दोषी होइन भन्ने मनासिब आधार देखिएको खण्डमा।
अब अदालतले उक्त कानुनी आधारका सन्दर्भमा लामिछानेको निवेदनबारे निर्णय सुनाउनेछ।