काठमाडौं, भाद्र ०५ । निजी विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकहरूले आफ्ना मागहरू सरकारसमक्ष प्रस्तुत गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनको पहिलो चरण अन्तर्गत उनीहरूले आजबाट काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेका छन्।
शिक्षक तथा प्रधानाध्यापकहरूले आफ्ना मागहरू पटक–पटक सम्बोधन हुन नसकेको गुनासो गर्दै यदि मागहरू पूरा नभए भदौ ९ गतेदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनीसमेत दिएका छन्।
यसै क्रममा भदौ ५ गते प्रधानाध्यापकहरूले माइतीघरमा ब्यानरसहित प्रदर्शन गरे। भोलिपल्ट, अर्थात् भदौ ६ गते, देशभरका विद्यालय बसहरूमा कालो झण्डा झुण्ड्याएर नगर परिक्रमा गरिनेछ। साथै काठमाडौंमा ¥याली आयोजना गरिने र संसदको शिक्षा समितिलाई घेराउ गर्ने कार्यक्रम तय गरिएको छ।
शिक्षक तथा प्रधानाध्यापकहरूले सरकारसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न आग्रह गरेका छन्, अन्यथा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।