काठमाडौं, २४ भाद्र । जेनजी आन्दोलन उग्र बन्दै जाँदा र जनधनको ठूलो क्षति भएको घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्रीको सचिवालयले उनको राजीनामाको पुष्टि गरेको हो।
सोमबार, भ्रष्टाचारविरुद्धको आवाज र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेनजीहरूले देशव्यापी प्रदर्शन गरेका थिए। तर, सरकारद्वारा प्रदर्शन नियन्त्रण गर्न प्रयोग गरिएको बलप्रयोगमा १९ जनाको ज्यान गएपछि आन्दोलन झन् चर्किएको थियो।
प्रदर्शनकारीहरूले सार्वजनिक सम्पत्ति र सरकारी संरचनामा तोडफोड गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। परिस्थिति थप जटिल बन्दै गएपछि प्रधानमन्त्री ओलीले अन्ततः आफ्नो पद त्याग्ने निर्णय गरेका हुन्।