काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै गौरी बहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई खुलेआम चुनौती दिएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनका क्रममा आपराधिक क्रियाकलाप भएको दाबी गर्दै, त्यसप्रति सरकार र आयोगको दृष्टिकोणप्रति असन्तुष्टि जनाए।
बस्नेतले आन्दोलनका क्रममा हातहतियारको प्रयोग भएको आरोप लगाउँदै, रास्वपाका शीर्ष नेताहरूको भूमिकामाथि समेत प्रश्न उठाए। उनले नक्खु कारागार प्रकरणमा सभापति रवि लामिछानेलाई छुटाउन गएका रास्वपाका नेताहरू – डीपी अर्याल, मनिष झा, र ज्वाला सङ्ग्रौलाको गतिविधि छानबिनको दायरामा ल्याउनुपर्ने माग राखे।
उनको भनाइमा, “१४ हजार कैदी भागेका छन्, ५ सय चौकी जलाइयो, १२ हजार हतियार र २० हजार गोली लुटिए। ती सबै कहाँ छन?“ उनले यस घटनालाई नेपालको सुरक्षामाथिको खतरा भन्दै साम्राज्यवादी शक्तिको सम्भावित हस्तक्षेपप्रति चेतावनीसमेत दिए।
बस्नेतले गृहमन्त्रीको भूमिकामाथि पनि आलोचना गरे। उनले भने, “प्रहरीलाई जिउँदै जलाउनेलाई कारबाही गर्नुपर्ने हो, तर गृह मन्त्रालयका जिम्मेवारहरू बेखबर छन्। उल्टै सुदन गुरुङलाई गुलेली खेलाउने काममा लगाइन्छ, कुलमान घिसिङलाई अनावश्यक उठबस गरिन्छ।”
अर्थमन्त्री रामेश्वर खनालको कार्यशैली र प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि उनले आक्रोश पोख्दै भने, “सम्पत्ति शुद्धीकरण गरिन्छ कि गरिँदैन भन्ने प्रश्न उठ्छ। के सरकार प्रतिशोधको बाटोमा लाग्दैछ?”
उनले आफूलाई निशाना बनाइएको दाबी गर्दै भने, “सरकारको पहिलो टार्गेट केपी ओली, तेस्रो म। झुटा मुद्दा बनाएर मलाई पक्राउ गर्न खोजियो, तर त्यो षड्यन्त्र अदालतले अस्वीकार ग¥यो।”
बस्नेतले साइबर ब्युरोमा उपस्थित भएर आफ्नो पक्ष स्पष्ट पारेको जानकारी दिँदै, आफू कानुनी प्रक्रियामा पूर्ण विश्वास गर्ने र आवश्यक परे जेल जान पनि तयार रहेको बताए। साथै, उनले सरकारलाई चेतावनी दिँदै भने, “मलाई समातेर देखाउनुहोस् – तर म विधिको शासनमा विश्वास गर्छु।”