भैरहवा फागुन ३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कोतर्फबाट रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहराले युवाहरुले देशमै भविश्य देखुन भन्ने आप्नौ चाहना रहेको बताएका छन् ।
आइतबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आप्नौ ९ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै युवाले देश छोड्नुपर्ने बाध्यता होइन, देशमै भविष्य देखुन भन्ने चाहेको बताए ।
जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा गरेको आन्दोलनलाई आत्मसात गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा युवाको आवाज संसद्सम्म पुर्याउन आफूलाई जिताउन बोहराले आग्रह गरे । लघुवित्त र सहकारी पीडितका पक्षमा काम गर्नुपर्ने कुरामा आफू पूर्ण प्रतिबद्ध रहेको बताउदै सुशासन र भ्रष्टार नियन्त्रण अन्तर्गत सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली, पूर्णरुपमा अधिकारसम्पन्न स्थानीय सरकार, ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शीता, हरेक वर्ष जनतासँग कामको प्रतिवेदन प्रस्तुत र जनताले सोध्ने र आफूले जवाफ दिने कामको सुरुवात गर्ने प्रमुख प्रतिवद्धता रहेको बताए ।
त्यस्तै रोजगारी र अर्थतन्त्र अन्तर्गत युवाका लागि स्थानीय रोजगारीको सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवद्र्धन, स्थानीय उद्योगमा रोजगारीको व्यवस्था सिर्जना, शिक्षा क्षेत्रमा व्यापाक सुधारका लागि सरकारी विद्यालयको भौतिक संरचनाको निर्माण र शैक्षिक गुणस्तर अभिवृद्धि, रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा क्याम्पसमा परिणत, सीप, प्रविधि र व्यवहारिक शिक्षामा जोड दिइने उम्मेदवार बोहराले बताए ।
स्वास्थ्य सेवा अन्तर्गत सबै नागरिकका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, गाउँ–नगरमै गुणस्तरीय विशेषज्ञ सेवा, क्षेत्र नम्बर १ भित्र पर्ने सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको व्यवस्थापन, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन र धकधई स्वास्थ्य केन्द्रलाइई स्तरोन्नति गर्दै विशेषज्ञ सेवासहितको सुविधा प्रतिवद्धतामा समेटिएको छ ।
कृषि र खाद्य सुरक्षा अन्तर्गत व्यवसायिक कृषि प्रवद्र्धनमा जोड, किसानलाई उचित मूल्य र बजार सुनिश्चितता, सिंचाई, भण्डारण र आधुनिक कृषि प्रविधि, आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि, पूर्वाधार विकास अन्तर्गत क्षेत्रका सबै पालिका जोड्ने गरी सडक सञ्जालको निर्माण, रोहिणी नदी संरक्षणसँगै जलासययुक्त बाँधबाट पर्यटन विकासमा जोड, रोहिणी नदीको मैनिहवामा पक्की पुल निर्माण, देवदहलाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने, फोहोर प्रशोधन केन्द्रको निर्माण, सुविधासम्पन्न खेलकुद मैदानको निर्माण लगायतका काम समावेश गरिएको छ ।
त्यसै गरी निर्णय तहमा युवाको अर्थपूर्ण सहभागीता, महिला उद्यम, सुरक्षा र नेतृत्व, महिला उद्यम, सुरक्षा र नेतृत्व, पिछडिएका समुदायको सशक्तिकरण, भाषा, संस्कृति र परम्पराको संरक्षण, राष्ट्रिय स्वाभिमान र स्वतन्त्र परराष्ट्र नीति समावेश गरिएको छ
कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले राप्रपाले उठाएको माग जेनजी पुस्ताले उठाएकोले आफूहरु जेनजीको भावनाविपरीत जान नसक्ने बताए ।