भैरहवा फागुन ४ ।
जनता समाजवादी पार्टी (जसपा), नेपालकोबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रीनिवास यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जसपा नेपालको केन्द्रीय सदस्य समेत रहेका यादवलाई सोमबार भैरहवामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गुमादेवी आचार्यसहित नेताहरुले पार्टीमा प्रवेश गराएका थिए ।
मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायीत्व र निकासका लागि नेकपा (एमाले) नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने पार्टीका भएकाले एमालेमा प्रवेश गरेको यादवले बताए ।
देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा यादवले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले श्रीनिवास यादवको प्रवेशले रुपन्देही–३ मा एमालेको जीतलाई अझ सुनिश्चित गरेको बताए । २०७९ सालमा एमालेले पाँचवटामध्ये तीनवटा क्षेत्र जितेको र यसपटक पाँचवटा क्षेत्र जित्ने दाबी गरे ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बासुदेव घिमिरे मुलुकको विकास र समृद्धिका लागि एमाले नै निर्णायक शक्ति रहेको बताए ।
क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोद कुमार यादवले अबदेखि रुपन्देही–३ सहित जिल्लाका सम्पूर्ण निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जिताउन आग्रह गरे र
एमाले रुपन्देहीका जिल्ला अध्यक्ष यज्ञ गैरेले एमालेमा प्रवेश गरेका श्रीनिवास यादवलाई उचित जिम्मेवारी प्रदान गरिने बताए । जिल्ला उपाध्यक्ष हितराज पन्थीले एमाले नै मुलुकको निर्णायक शक्ति भएको दावी गरे ।