काठमाण्डौ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ । ९आज बसेको स्थायी कमिटी बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो। प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। संसद बैठक आह्वान भइसकेको छ।
समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने पनि नेता पोखरेलले जानकारी दिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्नेछ । यस्तै माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीको चाल खतरनाक हुन सक्ने भन्दै अरू दलहसँग छलफल गरेर आउँदा योजना बनाउने निर्णय गरेको नेता पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ । बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा पनि विरोध गरेको छ । संसद् बोलाइ सकेपछि पनि अध्यादेश ल्याउनु सरकारको गलत मनसाय भएको कांग्रेसको ठहर छ । यस्तै सरकार कोरोना महामारी रोकथामका लागि गम्भीर नभएको भन्दै बैठकले महामारी नियन्त्रणका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।
यसैगरी कांग्रेसको आसन्न महाधिवेशन तोकिएको समयमै गर्ने र यसका लागि महामारीसँग जुध्न आवश्यक स्वास्थ्यका मापदण्ड पालना गरी तोकिएका काम जारी राख्ने निर्णय गरेको हाे ।