बुटवल। नेकपा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनयुद्धको नेतृत्व कुहिएको बताएका छन्।
बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्ध लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व पुष्पकमल दहाल प्रचण्ड कुहिएको बताए। पूर्वजनमुक्ति सेनाका शिविरहरूमा भएका घोटालाको खोजी गर्न आग्रह गर्दै उनले शिविरको घोटाला गर्नेलाई कारबाही गर्नका लागि तयार हुनुपर्ने बताए। "जति पैसा त्यसबेला घोटाला भएको थियो, त्यही बराबरको पैसा तपाईहरूको कल्याणकारी कोषमा जम्मा गर्ने जिम्मा लिन म तयार छु", पाेखरेलले भने।
प्रचण्डले जनमुक्ति सेनाको सपनालाई धोका दिएको भन्दै इतिहासको लिगेसीका आधारमा जनमुक्ति सेनालाई बन्धक बनाउन खोजेको बताए।
त्यसतै नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले अर्बौं रकम अनियमिता गरेको आरोप लगाए । मन्त्री रायमाझीले भने, '१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो? हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो?, प्रचण्डले जवाफ दिनुपर्छ। उनले भने, 'जनमुक्ति सेनालाई बेवास्ता गर्दा उनीहरू आज घर न घाटको भएका छन्।'
उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ मच्चाई रहेको टिप्पणी गरे। पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो?
'उहाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभो, साथीहरूले बाटो बिराउनु भएको छ। संसद पुनस्थापना सयमा एक प्रतिशत पनि हुँदैन।' प्रचण्ड माधव समूहलाई सच्चिएर मूल पार्टीमै फर्किन पनि रायमाझीले आग्रह गरे।