भैरहवा मंसिर १६
अध्ययनका लागी बिदेश जाने प्रबृतीलाई न्युनिकरण गर्न शिक्षामा लगानी बढाउनु पर्नेमा राष्ट्र्पति विद्यादेवी भण्डारीले जोड दिनु भएको छ ।
उच्च शिक्षा अध्ययनका लागी ठूलो संख्यामा बिध्यार्थीहरु विदेशीने गरेको बताउदै यसको न्युनिकरण र शैक्षिक गुणस्तर बृद्धीका लागी शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताउनु भयो । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सव तथा प्रथम त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्र्पति भण्डारीले अब्बल जनशक्ती उत्पादन गर्न शैक्षिक गुणस्तर आबस्यक भएको बताउनु भयो ।
‘लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी, विदेशी विद्यार्थी तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने जोड दिनु भयो । बौद्ध दर्शन आजको युगमा विश्वभरी फैलिरहेको बताउदै विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीका मूर्त र अमूर्त सम्पदाहरु विश्वमै अमूल्य भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । लुम्बिनी गुरुयोजनाको काम विलम्ब हुनुको कारण पत्ता लगाएर यथासक्य छिटो पुरा गर्न सके लुम्बिनी एक उत्कृष्ट अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय गन्तब्य बन्ने राष्ट्र्पति भण्डारीले बताउनु भयो ।
रुपन्देही , नवलपरासी , कपिलवस्तु, र देशैभर फैलिएका बौद्ध र बौद्ध शिक्षासंग सम्बन्धित पुरातात्विक सम्पदाको उत्खनन् तथा संरक्षण गर्नुपर्ने उहाले जोड दिनु भयो । ‘बुद्धका उपदेश÷शिक्षालाई पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयहरुलाई सुझाव दिनु भयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षालाई सिपसंग जोड्नुपर्ने बताउनु भयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गरी शिक्षालाई सीप र संस्कारसँग जोडेर आध्यात्मिक समृद्धि हासिल गर्नतर्फ लाग्नुपर्नेमा मन्त्री पौडेलले जोड दिनु भयो ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेचरनले सबै मिलेर मुलुकको विकासका लागि अघि बढ्नुपर्ने बताउनु भयो । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजनाको कार्यान्वयन प्रभावकारी ढंगले हुन सके लुम्बिनी संसारकै लागि आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकासित हुने बताउनु भयो । विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष भीम सुवेदीले बौद्ध धर्म, संस्कृति र कलालाई उन्नयन गर्ने काममा विश्वविद्यालयको सक्रियता प्रशंसनीय रहेको बताउनु भयो । सबैको साथ र सहयोगले विश्वविद्यालयको शैक्षिक विकासले गति लिएको विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले बताउनु भयो ।