
भैरहवा चैत्र १० ।
शनिबार टाईगर प्यालेस रिसोर्टमा ईण्डो-नेपाल बक्सिङ्ग खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाईटेड प्रोफेसनल बक्सिङ्गको आयोजनामा हुने खेलमा ३ जना नेपाली बक्सर पनि भिड्ने आयोजकले बताएका छन् ।

नेपालको काठमाण्डौ लगायतका शहरमा बक्सिङ्ग प्रतियोगिता भए पनि भैरहवामा इण्डो-नेपाल बक्सिङ्ग प्रतियोगिता पहिलो पटक आयोजना हुन थालेको युनाईटेड प्रोफेसनल बक्सिङ्गका आदित्य ओबरायले बताए । उनले प्रतियोगिताले यस क्षेत्रको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्य राखिएको बताए । “भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल, होटलहरुको उपलब्धता लगायतको सुविधालाई ध्यानमा राख्दै प्रतियोगिता यहा आयोजना गर्ने निर्णय गरेका हौं ।” ओबरायले भने “आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई यहा निरन्तरता दिने सोच बनाएका छौं ।”
टाईगर प्यालेस रिसोर्टमा हुने उक्त प्रतियोगिताको प्रवेश शुल्क २ हजार रुपैयाँ राखिएको र करिब ३ सय बढी दर्शकले यसको अवलोकन गर्ने रिसोर्टकी प्रवन्धक एमीले जानकारी दिईन । यो शुल्कमा पुल पार्टी, डिजे, बक्सिङ्ग लगायतमा भाग लिन तथा अवलोकन गर्न सकिने उनले बताइन ।
भारतीय कम्पनी युनाईटेड प्रोफेसनल बक्सिङ्गले भारतमा ७० भन्दा बढी कार्यक्रम गरि सकेको र नेपालमा पहिलो पटक आयोजना गर्न लागेकोले यसलाई सफल बनाउन नेपाली पक्षसित आग्रह गरेको छ ।