फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रा. लि. को आयोजनामा चैत १ गतेदेखि २४ गतेसम्म बुटवल–११ देवीनगरस्थित रंगशालामा मेला सञ्चालन हुने आयोजकले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष गोविन्द भुसालले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसले स्थानीय व्यापार, पर्यटन र मनोरञ्जनलाई एकसाथ जोड्ने विश्वास व्यक्त गरे। उनका अनुसार आर्थिक सुस्तताले प्रभावित बुटवल बजारलाई पुनः चलायमान बनाउन र सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्न महामेला आयोजना गर्न लागिएको हो।
मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ, जसले दर्शकलाई विशेष आकर्षण प्रदान गर्ने अपेक्षा गरिएको छ। मेलाको अर्को विशेष पक्ष भनेको यसको आकर्षक संरचनाहरू हुन्। विश्वकै अग्लो भवन ‘बुर्ज खलिफा’, सिंहदरबार, धरहरा तथा बुद्ध मूर्तिको प्रतिकात्मक संरचना निर्माण गरिनेछ। साथै लुम्बिनीको झल्को दिने गरी सचिवालयसमेत तयार गरिने आयोजकले जनाएको छ, जसले मेलामा आउने दर्शकलाई फरक अनुभव दिलाउने विश्वास लिइएको छ।
यसपटक मेलामा नयाँ प्रकारका आकर्षणहरू पनि थपिएका छन्। दर्शकका लागि जलपरी (Mermaid) शो विशेष रूपमा प्रस्तुत गरिनेछ भने हिमाली क्षेत्रको अनुभूति दिलाउने गरी कृत्रिम हिउँ पर्ने वातावरणसमेत तयार गरिनेछ। जहाँ पुगेपछि दर्शकले साँच्चिकै हिमाली क्षेत्रमा पुगेको जस्तो अनुभूति गर्नेछन्।
मनोरञ्जनका लागि जलपरी तथा जलपरा कपल डान्स, बाल उद्यान, सर्कस लगायतका गतिविधि रहनेछन्। त्यसैगरी युवापुस्तालाई लक्षित गर्दै टिकटक प्रतियोगिता र डान्स प्रतियोगिता समेत आयोजना गरिनेछ। मेलामा विभिन्न क्षेत्रका गरी करिब १ सय २० वटा स्टल रहनेछन्, जहाँ स्थानीय उत्पादनदेखि विविध व्यापारिक सामग्रीसम्म प्रदर्शन तथा बिक्री गरिनेछ।
आयोजकका अनुसार मेला अवधिभर करिब पाँच लाख दर्शकले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ। मेलाको प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र अन्य सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ। पाँच वर्षभन्दा मुनिका बालबालिका तथा ज्येष्ठ नागरिकका लागि भने प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। बुटवल उपमहानगरपालिका संरक्षक रहेको उक्त महामेलाको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम तय गरिएको छ।
आयोजकले यस मेलाले बुटवलको आर्थिक गतिविधि चलायमान बनाउन, स्थानीय उत्पादनको प्रवर्द्धन गर्न तथा मनोरञ्जनमार्फत सामाजिक वातावरणलाई थप उत्साहपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।