भैरहवा, असार १३ । नेपाल चलचित्र कलाकार संघले टिभी कार्यक्रम ‘इट्स माइ शो’ मा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यक्रमको प्रस्तुती र कार्यक्रममा सहभागी कलाकारले अमर्यादित, अशोभनीय, गैर जिम्मेवारपूर्ण अभिव्यक्ती दिएको भन्दै आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई उक्त अभिव्यक्तिले लत्याएको बताएको छ ।
‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा , वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ,’ संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,।’ एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसंगत ठहर्दैन र हुँदैन पनि ।’संघले यसअघि पनि केही कलाकारले सामाजिक मर्यादा र अनुशासन विपरीत आचारसंहिता पालना नगरी अभिव्यक्ति दिएकोमा संघले सचेत गराएको समेत उल्लेख गरेको छ ।कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडमा कलाकारको व्यक्तिगत विषय उठाइएको भन्दै होस्ट ओसिन सिटौला, अतिथि अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहको तीव्र आलोचना भइरहेको छ ।