लुम्बिनी, वैशाख २८ । पहिलोपटक लुम्बिनीमा बुद्ध जयन्तिको अवसरमा “लुम्बिनी बौद्ध सांस्कृतिक तथा खाना महोत्सव २०८२“ आयोजना गरिने भएको छ। लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र लुम्बिनी पर्यटन विकास परिषदको संयुक्त आयोजनामा हुन गईरहेको छ । लामो समयदेखि अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको लुम्बिनी सांस्कृतिक तथा सडक खाना महोत्सवको सफलताको आधारमा, यस वर्षदेखि बुद्ध जयन्तिलाई समेत महोत्सवका रूपमा मनाउने निर्णय आयोजक संस्थाले लिएको हो । महोत्सवले लुम्बिनीको बौद्ध आध्यात्मिक र सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबाट गरिनेछ। सो अवसरमा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।
लुम्बिनी होटल संघका अनुसार महोत्सवलाई शान्त, सौम्य, भव्य र सभ्य बनाउने तयारी गरिएको छ। महोत्सवको अर्को विशेष आकर्षण भनेको शुद्ध शाकाहारी खानाका विविध परिकारहरू हुनेछ। कार्यक्रममा नेपाली (थारु, नेवारी, पाल्पाली, गुरुङ, मगर) साथै भारतीय, थाई, चिनियाँ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरूका स्टलहरू रहनेछन्।
कार्यक्रममा आरोहण गुरुकुल नाट्य विद्यालयद्वारा बुद्ध सम्बन्धी चर्चित नाटक “गच्छामी“ को मञ्चन गरिनेछ । साथै विभिन्न राष्ट्रिय कलाकारहरूद्वारा बौद्ध गीत–संगीत प्रस्तुत गरिनेछ भने स्थानीय थारु समुदायले थारु नृत्य र बिरहा गीत प्रस्तुत गर्नेछन्।
महोत्सव यहि वैशाख २९ गते अर्थात ११ मे २०२५ दिउँसो ४ः३० बजे, लुम्बिनीको शान्तिदीप छेउ, केन्द्रीय नहरको पूर्वपट्टि आयोजना गरिने आयेजक समितिले जानकारी दिएको छ ।