भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी फागुन २१ र २२ गते हुने ६२ औं साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि उद्योगी व्यवसायीहरु चुनावी दौडमा होमिएका छन ।
निर्वाचनको मिति नजिकिदै गएसँगै संघमा आबद्ध उद्योगी तथा व्यवसायीहरु उम्मेदवारी घोसणा गर्दै चुनावी दौडमा लागेका छन् । हाल सम्मको तथ्याङक र उम्मेदवारी घोसणा अनुसार १६ जना नयाँ अनुहार संघको नेतृत्वका लागि प्रचार प्रसारमा लागेका छन । वाणिज्य सदस्य पदका लागि नयाँ अनुहारको रुपमा प्रमोद रिजाल, दिनेश अमात्य, धर्मराज आचार्य, विशाल जैसवाल, अभिनव मयुर कसौधन, ऋषि पाण्डे, जवाहिर अग्रहरिले उम्मेदवारी दिने घोसणा गरेका छन ।
त्यस्तै उद्योग सदस्य तर्फ ओम जैशी, हरि बहादुर थापा, राजु न्यौपाने, रामचन्द्र उपाध्याय, पुरुषोत्तम लम्साल नयाँ अनुहारका साथ संघमा उम्मेदवारी दिने घोसणा गरेका छन । त्यस्तै महिला कोटा तर्फ पनि अगामी निर्वाचनका लागि ३ जना नया अनुहार संघमा उम्मेदवारी दिने घोसणा गरेका छन । मिना पन्थी, हेमा बेल्बासे र विष्णु माया शर्मा पौडेलले उद्योगी व्यवसायीको हकहितका लागि संघमा प्रवेश गर्न उम्मेदवारी दिने तयारीमा प्रचार प्रसार गरिरहेका छन ।
यस्तै बस्तुगत तर्फ विनय ज्ञवालीले पनि नयाँ अनुहारको रुपमा उम्मेदवारीको घोसणा गरेका छन । नयाँ अनुहारको अलावा हालका कार्यसमिति सदस्य र यस अघिका निर्वाचन कार्यक्रममा उम्मेदवारी दिइसकेका दर्जन बढिले पनि अहिलेको निर्वाचनमा पुनः उम्मेदवारी दिने घोसणा गरेका छन ।
यस वर्ष देखि २ वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएपछि उम्मेदवार तथा आकांक्षीहरूको चर्चा सामाजिक संजालसँगै चोक चोकमा सुरु भएको छ । संघले मंगलबार निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । केहीले सामाजिक संजाल फेसबुक मार्फत त केहीले पर्चा पम्पलेट वितरण गर्दै उम्मेदवारीका लागि प्रचार प्रसार गरिरहेका छन । अहिले बजार तथा चियापसलमा मात्र नभएर विभिन्न कार्यक्रममा सहभागि हुदै आफ्नो उम्मेदवारी बारे जानकारी भोट माग्न व्यस्त भएका छन् ।
३० सदस्सीय कार्यसमिती रहेको संघमा यस वर्ष ३२ सदस्यीय कार्यसमिति रहने छ । २०७४ सालको संशोधीत विधान अनुसार १०० जना कर्पोरेट सदस्य भएमा १ जना निर्वाचित कर्पोरेट उपाध्यक्ष रहने व्यवस्था भए बमोजिम हाल कर्पोरेट सदस्यको संख्या १४७ पुगेकोले विधान अनुसार कर्पोरेट उपाध्यक्ष पद थपिएको छ ।

२ वर्षको कार्याकालका लागि २८ निर्वाचित कार्यसमितीका लागि पदाधिकारी भन्दा सदस्य आकाक्षी निकै बढी देखिएका छन् । उद्योग तथा वाणिज्य दुवै तर्फ अहिले नयाँ अनुहार उम्मेदवारहरुले उममेदवारी घोसणा गरी भोट माग्नमा व्यस्त छन । निर्वाचन र मतपरिणाम आ–आफ्नो पक्षमा पार्न सामाजिक संजाल , म्यासेज तथा फोनबाट उम्मेदवार र आकाक्षीहरुले मतको जोड घटाउको कसरत गरिरहेका छन । आकाँक्षीहरु नियमित छलफल, आन्तरिक समूह बनाउने, उद्योगी ब्यबसायीसंग सरसल्लाह गर्ने, पूर्व अध्यक्ष तथा पदाधिकारीहरुसँग सहकार्य गर्ने ,प्यानल बनाएर जाने की स्वतन्त्ररुपमा भिड्ने विषयमा दैनिक छलफल चलाईरहेका छन् । अहिले समाजिक संजालमा पनि आफ्नो उम्मेदवारी घोषणा गर्ने र चर्चामा आउने क्रम बढ्दो रुपमा रहेका छ । प्रविधिको प्रयोग गर्दै उद्योगी व्यवसायीहरुले मतदातासँग मतका सहयोगका लागि आग्रह गरिरहेका छन् ।