आउँदो असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।
मङ्गलवारकाे मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु गर्न निर्णय गर्दै निर्णय कार्यान्वयन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो । त्यसपछि मन्त्रालयले आउँदो १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि गन्तव्य निश्चित हुने र नागरिक उड्डयन प्राधिकरणले उडानको समय तालिका र उडान सङ्ख्या निश्चित गरेलगत्तै आन्तरिक उडान सुरु हुनेछ ।
आन्तरिक उडानमा नौ वटा वायु सेवा कम्पनी छन् । कोरोना सङ्क्रमण बढेपछि गएको वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरिएको थियो ।
त्यस्तै मन्त्रालयले जुन ३० सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नेपालमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै रोकिएको अन्तर्राष्ट्रिय उडान सरकारले विभिन्न श्रम गन्तव्य देशमा खुलाउने निर्णय गरेसँगै मन्त्रालयले उडान तालिका सार्वजनिक गरेको हो ।
कहाँबाट कहिले हुन्छ उडान
मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार भोलि बिहीबार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्नेछ । २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जाने तालिका छ भने एयर इन्डियाको जहाज दिल्लीबाट काठमाण्डौ आउनेछ ।
२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाण्डौ आउनेछ । टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाण्डौ आउने र एयर अरेबियाको जहाज आबुधाबीबाट काठमाण्डौ आउने गरी उडान तालिका तय भएको छ ।
२७ जुनमा नेपाल एयरलाइन्सले दोहा, हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक/एक उडान गर्नेछन् । कतार एयरवेज दोहाबाट काठमाण्डौ आउने छ भने जजिरा एयरवेज कुवेतबाट काठमाण्डौ आउने उडान तालिका छ ।
२८ जुनमा कतार एयरवेजले दोहाबाट उडान गर्नेछ भने नेपाल एयरलाइन्स यूएईको दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममाका लागि उडान भर्ने तालिका तय भएको छ ।
२९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने र टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने तालिका छ ।
फ्लाई दुबई दुबईबाट र ओमानबाट सलाम एयरको जहाज काठमाण्डौ आउने छन् ।
३० जुनमा कतार एयरवेजले दोहा, जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरी तालिका तय भएको छ भने नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम उडान भर्ने तालिका पर्यटन मन्त्रालयले सार्वजनिक गरेको छ ।
गएको वैशाख २३ गते मध्ये रातिदेखि सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । जेठ १८ गतेदेखि कतार, चीन र टर्कीबाट सातामा एक उडान हुने गरी अन्तर्राष्ट्रिय उडान खुलाइएको थियो ।
