काठमाडौं, चैत्र २७ । अर्बौ लगानी गरेर निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरी पनि उडान बिहीन बनेको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः नियमित सुचारुको माग राख्दै संयुक्त रुपमा आन्दोलनको घोषणा गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेका हुन् ।
पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरी प्रतिवद्धता लिने, सम्बन्धित एअरलाईन्सका प्रमुखसँग छलफल गर्ने सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । त्यस्तै सम्पूर्ण संघ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधि लगायत हजारौंको संख्यामा उपस्थिति भइ विमानस्थल अगाडि अल्टिमेटम दिदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायूसेवा निगमका प्रमुखहरुसँग अल्टिमेटम दिदै यदी विमानस्थलबाट उडान नभए आन्दोलनको कार्यक्रमको बारेमा ध्यानाकर्षण गराइने अध्यक्ष ज्ञवालीले बताए । त्यसै गरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण ¥याली प्रदर्शन तथा बजार परिक्रमा गरिने उनले जानकारी दिए ।
मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलन अन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा र यति गर्दा पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए । ‘सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीहरुलाई विमानस्थल प्रवेश निषेध गर्दै कालो झण्डा देखाउँछौं, ’उनले भने–‘आन्तरिक विमानस्थलबाट आगमन प्रस्थान बन्द गर्नका लागि सम्बन्धीत पक्षलाई टिकट नकाट्नका लागि आह्वान र विमानस्थल गेटमा शान्तिपूर्ण प्रदर्शन गरी आवातजावत समेत बन्द गराउँछौं ।’
ष्mबनभक
ष्mबनभक
शान्तिपूर्ण विरोधका कार्यक्रमले उग्र रुप लिएमा त्यसको जिम्मा नेपाल सरकारको हुने अध्यक्ष ज्ञवालीले बताए । ‘यति गर्दा पनि हाम्रो माग (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाट अन्तर्राष्ट्रिय उडान नभएमा) पुनः तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य हुनेछौं,’उनले भने । विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता जनाएपछि आफूहरुले आन्दोलन स्थगित गरे पनि सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको उनले बताए ।
आन्दोलनका लागि सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डाइभर्सनको रुपमा जस्तै प्रयोग मात्र गरेको बताए । उनले अबको आन्दोलनलाई निर्णायक बनाउने गरी अघि बढ्ने बताए । लुम्बिनी प्रदेशका सम्पूर्ण निजी क्षेत्रलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।
‘लुम्बिनी प्रदेशका निजी क्षेत्रका नेताहरुसँग छलफल गरेर उहाँहरुको अगुवाइमा आन्दोलन गर्छौं, अनि आन्दोलनले पनि सार्थकता पाउँछ,’आचार्यले भने–‘नेतृत्व जसले गरे पनि फरक पर्दैन ।’ विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । संघीय सरकारले विमानस्थल सञ्चालनका लागि सहयोग गरेन, ’उनले भने–‘स्थानीय सरकारले पनि यसमा सहयोग गरेको अवस्था छैन ।’
उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले सरकारले गरेको सहमति पालना नगर्दा बारम्बार आन्दोलन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले विमानस्थल निर्माण हुने तर, सञ्चालन नहुने अवस्था दुर्भाग्यपूर्ण रहेको बताए । ‘रुपन्देहीको विकासका लागि विमानस्थल सञ्चालन हुनैपर्छ,’उनले भने–‘सम्पूर्ण संघ–संस्थाहरु एकढिक्का भएर अगाडि बढ्नुपर्छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेले विमानस्थल नियमित सञ्चालनका लागि सरकारले इच्छा नदेखाएको बताए । सरकारले पटकपटक आश्वासन दिए पनि विमानस्थल पूर्ण र नियमित सञ्चालन हुन नसकेको उनको भनाइ छ ।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुन नसक्दा व्यवसायी लगानी गर्नबाट पछाडि हटिरहेको बताए । ‘सम्भावना भए लगानी गर्ने हो, नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको अवस्था छैन, सम्भावना नभइन कसरी लगानी गर्ने ?’ उनले भने ।