काठमाडौं, १२ असोज । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत उपयोग गर्ने उद्योगीहरुलाई २१ दिनभित्र बक्यौता तिर्न अल्टिमेटम दिएको छ। आइतबार सार्वजनिक सूचनामार्फत प्राधिकरणले १७ कात्तिकभित्र बाँकी रकम बुझाउन आग्रह गरेको हो।
२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरिएको विद्युत् शुल्क अझै बाँकी रहेका ग्राहकले तोकिएको समयसीमा भित्र बिल तिर्नुपर्ने प्राधिकरणले जनाएको छ।
यसअघि बक्यौता सम्बन्धी विवादका विषयमा प्रशासकीय पुनरावलोकनका लागि २०८२ जेठसम्म निवेदन दिन समय दिइएको थियो। सोही अनुसार वैशाख २६ र ३० गते सूचना प्रकाशित गरिएको थियो। तर प्राधिकरणको सञ्चालक समितिको असोज १० गतेको बैठकले पुनरावलोकन प्रक्रिया बन्द गर्ने निर्णय गरेपछि अब निर्धारित शुल्कअनुसार नै भुक्तानी गर्नु पर्ने व्यवस्था लागू भएको हो।
प्राधिकरणका अनुसार २०८१ कात्तिक २९ मा गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड र टाइम इन्टरभल अनुसारको विद्युत खपतका आधारमा बक्यौता गणना गरिएको छ।
यदि ग्राहकले एकैपटक सम्पूर्ण रकम तिर्न नसक्ने अवस्था भएमा २८ किस्तासम्ममा तिर्न सकिने सुविधा उपलब्ध गराइनेछ। तर तोकिएको समयसीमा (१७ कात्तिक) भित्र बक्यौता नबुझाएमा प्राधिकरणले कानून अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ।