Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कविताः अझै लेख्न बाँकी


  • लुम्बिनी चिन्तन
  • माघ ३०, २०७७ शुक्रवार
  • 1.4K
    SHARES

कविताः अझै लेख्न बाँकी
अझै लेख्न बाँकी
टिपी भावना लेखनी यो नचल्दा
छ के काम लेखी नलेखौं कि भन्दा
भनिन् शारदाले कहाँ हुन्छ थाकी
छ यो जिन्दगानी अझै लेख्न बाँकी
 
नपाएर मौका बिचल्ली परेका
हजारौं यहाँ सिर्जना छन् मरेका
म आफै बनी सिर्जनाको हुलाकी
छ यो जिन्दगानी अझै लेख्न बाँकी
 
खसाल्छौं यहीँ भन्दथे जून तारा
अझै टोल वस्तीहरू छन् अँध्यारा
जलाई टुकी या उकासेर बाती
छ यो जिन्दगानी अझै लेख्न बाँकी
 
कतै पेट खाली कतै आङ नाङ्गो
भयो विश्वमै लाज हाम्रो उदाङ्गो
सजाएर ऐश्वर्यको दिब्य झाँकी
छ यो जिन्दगानी अझै लेख्न बाँकी
 
छुटेका हजारौं मिठा सम्झना छन्
टुटेका फुटेका सयौं तिर्सना छन्
खुला पत्र जस्तै उघारेर छाती
छ यो जिन्दगानी अझै लेख्न बाँकी
 
छ बाँकी अझै जिन्दगी पढ्नलाई
छँदैछन् सयौं खुट्किला चढ्नलाई
पुगी टाकुरामा नयाँ घाम डाकी
छ यो जिन्दगानी अझै लेख्न बाँकी
 
उठाएर माटो चुमीे देश भाकी
म यो देशका निम्ति मर्नै छ बाँकी
ढुकोस् कालले किन्तु थाक्दै नथाकी
छ यो जिन्दगानी अझै लेख्न बाँकी


लुम्बिनी चिन्तन

थप समाचार