भैरहवा । रुपन्देहीको स्मार्ट कृषि गाँउ मंगलपुरले अनुदानमा किसानहरुलाई यान्त्रिक औजार वितरण गरेको छ ।
कृषि यान्त्रिकरणको माध्यमबाट कृषि व्यवसायको आधुनिकीकरण गर्दै दिगो आर्थिक विकास गर्ने सरकारको लक्ष्य छ । त्यसै अनुसार स्मार्ट कृषि गाउँहरुले अनुदानमा यान्त्रिक औजार वितरण गरिरहेका छन् ।
कृषि क्षेत्रमा अझै पनि अधिकांशमा ठाउँमा परम्परागत हाते यन्त्र र जमिन तयार गर्न पशुद्वारा सञ्चालित काठे हलोमा नै निर्भर भएको पाइन्छ । आधुनिक तरिकाले कृषि पेसा गर्न तिलोत्तमा १४ मा रहेको मंगलपुर स्र्माट कृषि गाउँले अनुदानमा उपकरण वितरण गरेको स्मार्ट कृषि गाउँका संयोजक पन्नेलाल केवटले बताए ।
मिनी टिलर ६ वटा, पावर टिलर चारवटा, पम्पसेट १२ वटा, मोटर पाँचवटा, डिजिटल काँटा १५वटा, स्प्रे ट्यांकी ३० वटा, डेलिभरी पाइप एक हजार ६० केजी लगायतका उपकरण वितरण गरेको स्मार्ट कृषि गाउँका सचिव मायादेवी केवटले बताइन् । उत्पादन बढाउन, लागत घटाउन र मुनाफा बढी लिन यान्त्रीकरणले सहयोग मिल्ने भएकाले स्मार्ट कृषि गाउँले अनुदानमा मेसिन बाँडेको उनले बताइन् ।
निर्वाहमुखी कृषिलाई व्यवसायीक बनाउन, आधुनिक प्रविधि सहित उपकरणको प्रयोगमा बृद्धि गर्नुपर्ने कृषि प्राविधिकहरुले सुझाउने गरेका छन् । यान्त्रिकरणमा जाँदा जनशाक्ति कम लाग्ने र लागत घट्ने कृषि ज्ञान केन्द्र नवलपरासीका कृषि प्रशार अधिकृत मनिषा पौडेलले बताइन् । यान्त्रिकरणको माध्यमबाट कृषि प्रणालीमा आधुनिकीकरण एवम् व्यवसायिकरण गरी राष्ट्रिय विकासमा योगदान पु¥याउन लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ सञ्चालन गरेको पौडेलले बताइन् ।
मंगलपुर स्मार्ट कृषि गाउँलाई कृषि ज्ञान केन्द्रबाट ५० लाख बजेट बिनियोजन गरिएको थियो । जसमा ३० लाख ज्ञान केन्द्रले र २० लाख स्थानिय तह र किसानले लगानी गर्ने सम्झौतामा उल्लेख थियो । तर तिलोत्तमा नगरपालिकाले स्मार्ट कृषि गाउँमा लगानी नगरेको किसानहरुले दुखेसो पोखे । अहिले ३९ लाख ५२ हजार मुल्य बराबरका उपकरण स्मार्ट कृषि गाउँ मंगरपुरले वितरण गरेको छ ।