भैरहवा मंसिर २७/
२३ औँ सामूहिक खेलकुद महोत्सव २०८१ को दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन्। सामूहिक विद्यालय परिवार रूपन्देहीले आयोजना गरेको चार दिने खेलकुद महोत्सवको दोस्रो दिनका खेलहरू बिहिबार सम्पन्न भएको हो।
मङ्सिर २६ गतेदेखि सुरु भएको खेल महोत्सवको दोस्रो दिन सब जुनियरतर्फ १०० मिटर दौड, रिले हिट्स, लङजम त्यस्तै जुनियरतर्फ १०० मिटर दौड २०० मिटर दौड,४०० मिटर दौड, लङजम्प र सिनियरतर्फ १०० मिटर दौड २०० मिटर दौड , लङजम्प र भलिबल खेलहरु भएका छन् ।
एथ्लेटिक्स तर्फका सम्पूर्ण खेल पक्लिहवा कृषि क्याम्पसमा भएको थियो भने भलिबल खेल पक्लिहवा माविमा थियो। स्वास्थ्यका लागि खेलकुद जीवनका लागि खेलकुद भन्ने मूल नाराका साथ विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा भएको प्रतिभालाई प्रस्फुटन गराउनु खेल महोत्सवको उद्देश्य रहेको आयोजक टिमले जनाएको छ।
सामूहिक विद्यालय परिवार रूपन्देहीले विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले २०५९ साल देखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष वसन्त पाण्डेले बताए । उनले शिक्षाका साथै खेलकुद र सामाजिक क्रियाकलापमा पनि उत्तरदायित्व बहन गर्दै सामूहिक विद्यालय परिवार रूपन्देहीले वर्षेनी विविध कार्यक्रमहरू आयोजना गर्दै आएको बताए।
कक्षा १ देखि ३ सम्मको सब जुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७ देखि १० सम्मको सिनियर गरी तीन तहमा हुने प्रतियोगितालाई छात्र र छात्रा गरी दुई विधामा प्रतियोगिता भैरहेका छन् ।

मङ्सिर २६ देखि २९ मंसिरसम्म हुने चार दिने खेल महोत्सवमा पचास मिटरदेखि आठ सय मिटरसम्मका दौड, भलिबल ,सय गुणे चार रिले दौड, लङजम्प, र सटपुट खेलहरू हुने आयोजकले जानकारी दिएका छन ।
सामूहिक विद्यालय परिवार रुपन्देहीले आयोजना गरेको खेलमा करिब १५ सय विद्यार्थीहरू सहभागी थिए। सामूहिक विद्यालय परिवार रूपन्देहीमा सिद्धार्थनगर नगरपालिका तिलोत्तमा नगरपालिका मायादेवी गाउँपालिका रोहिणी गाउँपालिका र ओम सतिया गाउँपालिकामा पर्ने २० विद्यालय सदस्य रहेका छन्।