Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बुटवलले ल्यायो ३ अर्ब ३६ करोडको बजेट


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०८२ मंगलवार
  • 322
    SHARES

बुटवलले ल्यायो ३ अर्ब ३६ करोडको बजेट
 
भैरहवा असार ९ ।
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत रहने अनुमान सहित बजेट प्रस्तुत गरिन् ।

यस्तै जेष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ ।

यस्तै गरी, नगरलाई सफा र स्वच्छ राख्न मेरो टोल म सफा गर्छु भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्ममी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन् ।

किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिनका लागि ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ ।

यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुन नापी गर्नका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । बुटवलले यसअघि शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खेलराज पाण्डेयले शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति बनाएको बताएका थिए । उनले जनशक्ति उत्पादन र खपतमा जोड दिदै पढाइसँगै रोजगार कार्यक्रम र ४० जना छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गर्ने कार्यक्रम सञ्चालन गर्ने बताए । उनले परम्परागत सीपलाई प्रवर्द्धन गर्नका लागि सीप विकास केन्द्र सञ्चालन गर्ने बताए । बुटवलका गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम अन्तरगत उत्पादित वस्तुको उत्पादन र विक्री केन्द्र (कोशेली घर) स्थापनामा जोड दिइने बताए ।

शिवनगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल १२ चारपाला सामुदायिक वनमा बहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिने उनले बताए । ‘घुमौं बुटवल’ भन्ने अभियान अन्तरगत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरु सञ्चालन गर्ने प्रमुख पाण्डेयले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार