भैरहवा । रुपन्देहीको मायादेवी ८ उच्मीकी रोमामाया बलाल सहित उद्यमीहरु हातेपर्स, मोबाईल पर्स, झुम्केथैली, हातेझोला, जेब्राझोला बनाउनमा व्यस्त छन ।
लुम्बिनी हेल्प फाउण्डेसनले तीनवर्ष अघि दिएको आधारभूत सिलाई कटाई तालिमले रोममाया सहित रुपा बलाल, भुनमाया सारु र देऊमाया मश्राङ्गी पनि बलालसँगै ती वस्तु उत्पादन गर्दै आएका छन ।
रोममायाको समूहले घरधन्दा भ्याएर आफ्नो उद्यममा समय दिन्छन । उनीहरुले विहान ११ वजेदेखि दिउँसो ३ बजेसम्म रोममायाकै घरमा बसेर कटिङ्ग गर्ने, सिलाउने काम गर्ने गरेका छन भने बाँकी हातेसिलाईको काम आआफ्नै घरबाट गरेर उद्यमलाइ बढाइरहेका छन ।
सिद्धार्थ लोकमार्गको भैरहवा बुटवल खण्डमा पर्ने अञ्चलपुर नजिकै रहेको होण्डा शोरुमको छेउबाटै पश्चिमतिर करिव दुई किलोमीटर पक्कीबाटोको यात्रा गरेपछि मायादेवी गाउँपालिकाको वडा नं. ८ मा पर्ने उच्मी गाउँ छ । त्यहि छ रोममाया बलालको पूर्वतिर फर्केको दुई तले घरमा हुन्छ उद्यमका काम ।
बुटवल बजारबाट आवश्यक कच्चा पदार्थ कपडा, इभा फर्म, दूधगम, क्यामरेला (भित्री कपडा), चेन, धागो, सिंयो, कैची, चकहरुलाई ल्याएर घरमै शिपलाई प्रयोग गर्दै दिन विताउछन । सिर्जनशील झोला उद्योगको न्वारान गरी उनीहरुले आफ्नो उद्यमलाई अघि बढाई रहेका छन् । समूहको टोलीनेता नै हुन् रोममाया । तालिम लिएपछि व्यवहारिक रुपमै सीपलाई प्रयोग गरेका छन् । तालिम समाप्त हुनासाथ चारैजना दिदीबहिनीहरुले पैसा उठाएर सुरु गरेको हाते झोलाको उद्यमले दुई महिनामै खर्च कटाएर चारगुना बढी पुँजी बनाइसकेका छन् ।
सबैभन्दा महङ्गो भनेको जेब्रा झोलाको ६ सय रुपैयाँ पर्ने रहेछ । मोबाईबल पर्सलाई दुई सय रुपैयाँ, हातेपर्सको एकसय ५० देखि दुई सय ,झुम्केथैलीको मूल्य ढाई सयदेखि तीन सय रुपैयाँसम्म पर्ने समूहकी सदस्य भूनमाया सारुले बताइन् । त्यसैगरी हाते झोलाको चार सय रुपैयाँमा बेच्दै आएको रोममायाले सुनाइन् । उनका अनुसार एउटा हाते झोला बनाउँदा सामग्री खर्च वापत दुईदेखि ढाई सय रुपैयाँ लाग्दोरहेछ । एक दिनमा काट्नेदेखि सिलाउनेसम्मको समय हिसाब गर्दा तीनवटा हातेझोला सजिलै बनाउन सकिने रहेछ ।
उनीहरुसँग गाउँपालिकाले दिएको एउटा मेसीनसहित चारवटा सिलाई मेसीन रहेछ । त्यही मेसीनको सहायतामा आफ्नो झोला,पर्स,थैली सिलाउने काम गर्दै आएको रोममायाले सुनाइन् । सायद हाम्रो जाँगर,राम्रो काम र उत्साह देखेरै त होला एउटा सिलाइ मेसीन भएपनि गाउँपालिकाले दिएको । हुन त हामीलाई निःशुल्क हाते झोला बनाउने तालिम पाउँदा नै खुसी थियौं । अझ् पछिल्लो पटक पुनःप्रयोग गर्न सकिने मास्क बनाउने तालिम समेत पाएका छौं भन्दैथिइन् रोममायाले ।
गुल्मीको हराचौर,हालको चन्द्रकोट गाउँपालिकाबाट बाबा तुलबहादुर बलालसँगै आफ्नो सिंगो परिवार २०५४ सालमा डाँडागाउँ झरेको बताउने रोममायाले चन्द्रकोटकै स्थानीय विद्यालयबाट आठ कक्षा उत्तीर्ण गरेकी रहेछिन् । २०५७ सालमा उनी नेपाल प्रहरीमा भर्ती भइन् । सोही सालमा उनले प्रहरी हवल्दार मुक्तबहादुर बुढाथोकीसँग विहे गरिन् । दुई सन्तानकी आमा रोममायाका छोरीले ११ र छोराले ५ कक्षा पढ्दैछन् । २०७४ सालमा नेपाल प्रहरीको सेवाबाट हवल्दारमा निवृत्त भइन् । प्रहरी सेवामा लागेकी उनीसँग द्वन्द्वकालीन पीडाहरु मनका एल्बममा सुरक्षित छन् । सेवाकै क्रममा उनी सिन्धुपालचोक,कास्कीको पोखरा,तनहुँ,लमजुङ, बाग्लुङ, रुपन्देहीहुँदै कपिलबस्तुबाट १७ वर्ष सेवा गरेर निवृत्त भएकी हुन् । बोल्नमा निडर र कर्मठ रोममायाको लाहुरे जीवन संघर्षमय रहेछ ।
भविष्यमा आफनो उद्यमलाई सामुहिकीकरण गर्दै लैजाने,धेरै दिदी बहिनीहरुलाई गोलबन्द गर्ने,आफूहरुसँग भएको ज्ञान,सीप हस्तान्तरण गर्दै जाने,आफ्नो उद्यमको बजारीकरण गर्दै जाने,थप नयाँ आइटमहरु समेत बनाउने,आफ्नै शोरुम खोल्ने,अनलाइन मार्केटिङ्ग गर्ने र महिलाहरुलाई उद्यमशीलतामार्फत् आर्थिक क्षेत्रमा नमूना काम गर्ने योजना र रहर भएको रोममायाले सुनाइरहँदा उनको मुहारमा चमक देखिन्थ्यो ।
उनले भन्दैथिइन्–हुन त बुढाबुढीको पेन्सनले खान पुग्छ । तैपनि उद्यमी बन्ने रहर र दिदीबहिनीहरुसँग ज्ञान,सीपको साटासाट गर्न सकिने र थोरैमोरै दाम कमाउन सकिने भएको हुँदा यतै लागें ।
मायादेवी गाउँपालिकाकी उपाध्यक्ष तारादेवी यादवका अनुसार आफ्नो पालिकाले महिलाहरुलाई उद्यमी बनाउनका निम्ति विभिन्न खालका सीपमूलक तालिमहरु दिदै आएको र झोला बनाउने तालिम बढी प्रभावकारी रहेको बताइन् ।