भैरहवा चैत्र ६/
‘नेपाल चिन्ने, नेपाल बनाउने अभियान’सहित सल्यानको दार्मा गाउँपालिका–५ का २६ वर्षीय मदन केसीले लुम्बिनीबाट ‘महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा’ सुरु गरेका छन् ।
‘नेपाल चिन्ने, नेपाल बनाउने अभियानमा ‘नेपालको माटो, नेपालको आवाज’, ‘गाउँ–गाउँ पुगौं, राष्ट्र बुझौं’, ‘मेरो पाँच वर्ष राष्ट्रको लागि’ भन्ने नाराहरु तय गरी राष्ट्र्रिय पदयात्रा सुरु गरेका केसीलाई लुम्बिनीमा उनका बुवा तेजु खत्री र आमा लक्ष्मी खत्रीले खादा–टिका लगाइदिएर आर्शिवाद दिएका छन् ।
केसीले नेपाल केवल भौगोलिक देश मात्र नभई यो इतिहास, संस्कृति, संघर्ष र आशाको राष्ट्र भएको बताउदै आज पनि नेपालका धेरै गाउँहरू राज्यको ध्यानबाट टाढा रहेकाले त्यसालाई चिनाउनका लागी आप्नौ यात्रा रहेको बताए ।
बिगट गांउहरु विकासको अवसरबाट वञ्चित छन्, आफ्नो आवाज सुनाउन सकिरहेका छैनन्, यसैले यो महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा सुरु गरेको हुँ ,नेपाललाई नक्साबाट होइन, पैदल हिँडेर बुझ्न चाहान्छु’, उनले भने ।
ड्रोन टेक्नोलोजी अध्ययन गरेका केसी यस अगाडी बिध्यार्थि जिवनमा विप्लब नेतृत्वको नेकपामा आबद्ध थिए । करिब पाँच वर्ष उनले नेत्र विक्रम चन्द विप्लबको सचिवालयमा बसेर आइटी हेरेका थिए । राजनीतिबाट मात्रै देश बुझ्न नसकिने बुझेपछि पदयात्रा अभियानमा लागेको उनले बताए ।
केसीले यात्रा मार्फत् नेपालका सबै जाति, भाषा र संस्कृतिलाई जोड्ने, अनुसन्धान र ज्ञान बटुल्ने बताए । यो अभियानसँग महान रिसर्च प्रालि जोडिएको र यसले अनुसन्धान, डाटा संकलन तथा डकुमेन्टेशनको काम गर्ने उनले बताए ।
नेपालका सबै भूगोल हिमाल, पहाड, तराईका दुर्गम गाउँ तथा सबै ठाउँ पुगेर वास्तविक नेपाल बुझ्ने, गाउँ–गाउँबाट नागरिकका समस्या, सम्भावना र सपना संकलन गर्ने, इतिहास र संस्कृति संरक्षण गर्ने, स्थानीय इतिहास, भाषा, परम्परा जीवनशैली सवैलाई दस्तावेज बनाउने आफ्नो उद्देश्य रहेको उनले बताए । आफ्नो यात्राको अवधि ५ वर्ष हुने र पूर्ण पैदल रहने बताउदे दैनिक १५–२५ किलोमिटर हिँड्ने, स्थानीय समुदायसँग बस्ने, गाउँमा संवाद गर्ने, भिडियो, फोटो र लेखनद्वारा दस्तावेज बनाउने काम गर्ने बताए ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश, कोशी प्रदेशका यात्रा गरिने र यस क्रममा दुर्गम गाउँ, ऐतिहासिक स्थल, प्राकृतिक क्षेत्र सवै ठाउँ पुग्ने लक्ष्य राखेको केसीले बताए ।