भैरहवा, असार ०३ । रुपन्देहीमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १०७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष (आ.व.) २०८०÷०८१ मा (२०८० साउनदेखि २०८१ असारसम्म) को अवधिमा उक्त मानवीय क्षति भएको हो ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीले एक वर्षको अवधिमा रुपन्देहीमा २५० वटा सवारी दुर्घटना भएको जानकारी दिए । उनका अनुसार आ.व. २०७९÷०८० मा सवारी दुर्घटनामा परी १०९ जनाको मृत्यु भएको थियो।आ.व. २०८०÷०८१ मा २५० वटा सवारी दुर्घटना भएका छन् भने आ.व.२०७९÷०८० मा २२२ वटा सवारी दुर्घटना भएका थिए । यो तथ्यांक अनुसार जिल्लामा गत वर्षको आर्थिक वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना बढेको छ ।त्यस्तै एक वर्षको अवधिमा जिल्लामा सवारी दुर्घटनामा परी १९३ जना गम्भिर घाइते र १३५ जना सामान्य घाइते भएका छन् । आ.व. २०७९÷०८० मा सवारी दुर्घटनामा परी १८० जना गम्भिर घाइते र ९० जना सामान्य घाइते भएका थिए ।त्यसै गरी आ.व. २०८०÷०८१ मा सवारी दुर्घटनामा परी ८ वटा पशु चौपायको मृत्यु भएको छ भने २ जना चौपाया घाइते भएका छन् । एसपी खत्रीका अनुसार आ.व. २०७९÷०८० मा सवारी दुर्घटनामा परी ४ वटा पशु चौपायको मृत्यु भएको थियो । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परी ५ सय जनाको मृत्यु भएको उनले जानकारी दिए ।सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले बताए ।लुम्बिनी ट्रक यातायात व्यवसायी संघका महासचिव रुमाखर गौतमले सवारी दुर्घटना हुँदा ठूलो धनजनको क्षति हुँदै आएको बताए । उनले भने, ‘सडकको अवस्थाका कारण पनि सवारी दुर्घटना हुँदै आइरहेको छ ।’ सडक लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारीसाधन चलाउने, मादक पदार्थ (मापसे) सेवन गरेर सवारी चलाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने, जथाभावी बाटो काट्नेलगायतका कारणले सवारी दुर्घटना हुने गरेको छ ।