भैरहवा, साउन २३ । होटल व्यवसायी महासंघले निर्वाचित सदस्यहरुलाई सम्मान गरिएको छ । संघले लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो ।
साउन ११ र १२ गते बाँकेको नेपालगंजमा भएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित रुपन्देहीका महेन्द्र श्रेष्ठसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको हो ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले बुधबार भैरहवामा बधाई तथा सम्मान कार्यक्रम गरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठ, महासचिव गणेश प्रसाद बेल्बासे, सह–सचिव लिलाधर भट्टराई, कार्यसमिति सदस्य राम प्रसाद गौतम र मोहन पाण्डेलाई सम्मान गरेको हो । निर्वाचित पाँचैजना रुपन्देही निवासी हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले सम्मान कार्यक्रमले निर्वाचित प्रतिनिधिलाई हौसला प्रदान गरेको र आफ्नो जिम्मेवारी बहन गर्न थप प्रेरणा दिएको बताए । उनले होटल व्यवसायीका माग र समस्या सम्बोधनका लागि बारम्बार राज्यलाई घचघचाइरहेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा ठूलो आशा भरोसा दिलाउन सक्दैनौ तर, सके जति गर्छौं । ’
उनले नवनिर्वाचित टीमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
संगठनका संस्थापक अध्यक्ष तथा सिद्धार्थ सञ्जाल रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले होटल व्यवसायीलाई हेर्न दृष्टिकोण फरक रहेको बताए । उनले रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘व्यवसायीले मन लागेको आफ्नो व्यवसाय खोल्न र बन्द गर्न पाउनुपर्छ ।’
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका सल्लाहकार तथा मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले व्यवसायलाई अगाडि बढाउन चुनौती रहेको बताए । उनले गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको बताए । उनले पर्यटकको बसाई अवधि बढाउने गरी प्याकेज बनाउनुपर्नेमा जोड दिए ।संगठनका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु) को स्वागत तथा महासचिव बाल बहादुर घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको संगठनकी सचिव कल्पना न्यौपानेले बताइन्। 