भैरहवा, साउन २९ । रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपाल र लियो क्लब अफ भलबारीको संयुक्त आयोजनामा बुटवलको नहरपूर माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य एवं लागूऔषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत २ सय जना विद्यार्थीको सहभागीता रहेको थियो । लियो क्लब अफ भलवारीकी अध्यक्ष सुमना केसीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी ई—क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपालका अध्यक्ष एवं वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ रोटरीयन डा. विक्रम काफ्ले र मनोविद् यशोदा बगालेले सहजीकरण गरेका थिए ।सो क्रममा डा. काफ्लेले लागूऔषध सम्बन्धी दुव्र्यसनको अवस्थाको बारेमा जानकारी गराउँदै बालबालिका, युवा तथा किशोरकिशोरीहरु यसमा फस्नुको कारण र बच्ने उपायको बारेमा स्पष्ट पारे । त्यस्तै मनोविद् यशोदा बगालेले बालबालिकामा देखिने मनोसामाजिक समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको उपायको बारेमा प्रकाश गरिन् ।लियो क्लबकी अध्यक्ष केसीले सचेतना कार्यक्रमबाट धेरै विद्यार्थीहरु लाभान्वित भएको बताउँदै यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि गरिने बताइन् ।कार्यक्रममा विद्यालयको कोअर्डिनेटरले विद्यार्थीमा चेतना जगाउने कार्यक्रमहरु निरन्तर रुपमा गर्न क्लवलाई आग्रह गरे । रोटरी ई—क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपालले विभिन्न विद्यालयहरुमा मानसिक स्वास्थ्य एवं लागूऔषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।