भैरहवा, २६ भाद्र । २०८२ साल भदौ २४ गते सिद्धार्थनगर नगरपालिका र वरपरका क्षेत्रमा भएको जेनेरेशन जेड (Gen Z) आन्दोलन एकाएक हिंसात्मक मोडमा प्रवेश गर्यो। सुरुमा आफ्ना मागहरू लिएर गरिएको भनिएको आन्दोलन केही घण्टामै नियन्त्रण बाहिर जान पुग्यो, र यसले तोडफोड, आगजनी र लुटपाटमा परिणति लियो।
नगरपालिकाकी उपमेयर उमा अधिकारीको घरमा आन्दोलनकारीहरूले हमला गरे। घरको स्कुटर र गाडी जलाइयो, घरभित्र पसी सबै सामग्री तोडफोड गरियो। दराज फुटाएर घरमा भएका कागजातहरू जलाइएको र गहना तथा नगद समेत चोरी भएको पुष्टि भएको छ। यो घटनाबाट लाखौंको धनजन क्षति पुगेको अनुमान छ।
त्यस्तै, नगरपालिकाका अर्का पदाधिकारी इस्तियाक अहमद खानको घरमा पनि तोडफोड र आगजनी भएको छ। घरका सम्पूर्ण सामग्री—कपडा, फर्निचर, कागजात—ध्वस्त भएका छन्। गहना चोरी भएको र दराजसमेत जलाइएको देखिएको छ। घटनास्थलको अवस्था हेर्दा मात्र आगजनी नभई चोरी गर्ने उद्देश्यसहित नै घरमा प्रवेश गरिएको बुझिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर प्रताप राणाको घरमा पनि सुरक्षाको कुनै आभास देखिएन। आन्दोलनकारीहरू पहिलो चरणमा दराज फुटाएर गहना र नगद लुटेर लगे, अनि त्यसपछि घरमा आगो लगाइदिए। यो घटनाले आन्दोलनको नाममा संगठित ढंगले लुटपाट गरिएको स्पष्ट संकेत गरेको छ।
सर्वसाधारणसमेत यस आन्दोलनको हिंसाबाट अछुतो रहन सकेनन्। भैरहवामा भाडामा बस्दै आएका सन्तोष पाण्डेको घरमा समेत आगजनी गरिएको छ। परिवारका लागि आवश्यक सामग्री, लत्ताकपडा, घरायसी सामान सबै पूर्ण रूपमा नष्ट भएका छन्।
त्यस्तै, भैरहवाको पिपरैया बिट चेक पोस्ट लगायतका सार्वजनिक संरचनामा पनि आगजनी गरिँदा आन्दोलन केवल सरकारविरुद्धको विरोधमा सीमित नभई अराजकता र क्षति पुर्याउने योजनाबद्ध प्रयासमा परिणत भएको देखिन्छ।