भैरहवा, भदौ २८ । जेन–जि आन्दोलनका क्रममा तोडफोड, आगजनी र चोरीबाट अनुमान गर्नै नसकिने क्षति पुगेको आन्तरिक राजस्व कार्यालय, भैरहवा अहिले स्थानीय करदाता, व्यवसायी र कर्मचारीहरूको सक्रियतामा सरसफाइ तथा पुनः व्यवस्थापनको अभियानमा जुटेको छ।
सरकारी सम्पत्तिमा भएको क्षतिको मूल्यांकन अझै पूरा भइसकेको छैन। यद्यपि, कार्यालय स्रोतका अनुसार कम्प्युटर, ल्यापटप, महत्वपूर्ण कागजातहरू लगायतका सामग्रीहरू नष्टे भएका छन । भने केही हराएका छन् । जसले कार्यालयको सेवा प्रवाहमा गम्भीर असर पारेको छ।
घटना भदौ २४ गते राति भएको हो। आन्दोलनका क्रममा तीन समूह कार्यालयमा प्रवेश गरेका थिए। पहिलो समूह शान्तिपूर्वक प्रदर्शन गरेर फर्किएको थियो। तर दोस्रो समूहले कार्यालयमा तोडफोड गरेको र तेस्रो समूहले आगजनी गर्दै अत्यावश्यक उपकरणहरू चोरी गरेको कार्यालय स्रोतले जनाएको छ।
शान्तिपूर्वक सुरु भएको आन्दोलन बाह्य समूहको प्रभावले हिंसात्मक मोडमा परिणत हुँदा यस्तो क्षति भएको बताइएको छ।
घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै दोषी पहिचान र कारबाही प्रक्रिया अघि बढाएको छ। यसबीच, कार्यालयलाई पुनः संचालन योग्य बनाउन सरसफाइ र व्यवस्थापन कार्य तीव्र गतिमा अघि बढाइएको छ।